दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा रहेको ब्रह्म आधारभूत विद्यालय पाँसुमा पढाई मेला तथा स्थानीय शैक्षिक सामग्री प्रदर्शनी सँगै अभिभावक उत्सव र पढाई भेला सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर कुवरको अध्यक्षता एवं वडा नं ५ का वडाध्यक्ष धन सिंह कुवरको प्रमुख आर्थित्यता तथा वडा सदस्य लाल सिंह महराको विशिष्ट आर्थित्यतामापढाई महोत्सव,अभिभावक उत्सव कार्यक्रम सम्पन्न भएको हो । विद्यालयले आयोजना गरेको यस विशेष कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूबीच सिकाइ–सिकाइ प्रक्रियालाई रोचक बनाउन विभिन्न गतिविधिहरू समावेश गरिएको थियो ।
कार्यक्रमको शुभारम्भमा दामाहा बाजाको मनमोहक प्रदर्शनसँग संगै अभिभावक तथा विद्यार्थीहरूले स्टलहरू निर्माण गरी स्थानीय सामग्रीबाट तयार गरिएका विविध शैक्षिक सामग्रीहरूको प्रदर्शनी राखेका थिए। भाग्य चिठ्ठा, स्मरण खेल, गणित तथा भाषिक सीप विकासका लागि खेलहरूले विद्यार्थीहरूलाई ज्ञानका साथै मनोरञ्जन प्रदान गरेका छन् । बाल चित्रकला प्रदर्शनी र पढाइ कुनाको नमुना प्रदर्शनीले विद्यार्थीहरूको सृजनात्मकता र विद्यालयमा भइरहेको सिकाइ प्रक्रियालाई प्रभावकारी ढङ्गले देखाएको थियो ।
अभिभावकहरूले कथा कहानी वाचन गरे भने विद्यार्थीहरूले आफ्नो वक्तृत्व कला प्रस्तुत गरे, सांस्कृतिक कार्यक्रमको रूपमा नृत्य, देउडा प्रतियोगिता र सरौँ नाचले कार्यक्रमलाई मनोरञ्जनात्मक बनायो । अभिभावकहरूको सहभागितालाई प्रोत्साहन गर्दै घैंटाफोड, देउडा र कुर्सी दौड जस्ता रोमाञ्चक प्रतियोगिताहरू सम्पन्न भएका छन् । कार्यक्रमको समापनमा उत्कृष्ट अभिभावकहरूलाई सम्मान समेत गरिएको छ । विद्यालयका प्रधानाध्यापक धन सिंह महराका अनुसार, विद्यालय, अभिभावक र स्थानीय समुदायबीच सहकार्य सुदृढीकरण, स्थानीय स्रोतसाधनबाट सिकाइ सामग्री निर्माण र बालबालिकाको बहुआयामिक सीप विकासलाई प्रवर्द्धन गर्नु रहेको बताएका छन् ।
यस्तै कार्यक्रमले अभिभावकहरूलाई विद्यालय गतिविधिमा सहभागी हुन र विद्यार्थीहरूको शैक्षिक प्रगतिमा सक्रिय भूमिका खेल्न प्रेरित गरेको आयोजक समितिले बताएको छ । सिआरडियस नेपालका शिक्षा अधिकृत उदय बोहरा, धारीपाटा माध्यमिक विद्यालय धारीका प्रधानाध्यापक दल बहादुर कुवँर, शिक्षक जमन सिंह लोथ्याल र नमराज भट्टको उपस्थित रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक तथा विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक धन सिंह महराले गरेका थिए भने शिक्षिका हिरा कुमारी सुनुवारले उपस्थित सबै अतिथिहरूलाई स्वागत मन्तव्यले स्वागत गरेको सिआरडियस नेपालका शिक्षा अधिकृत उदय बोहराले जानकारी दिएका छन् । यस यस्तै कार्यक्रम जिल्लाको मालिकार्जुन गाउँपालिका वडा २मा रहेको सरस्वती मावि सेलिचामा सम्पन्न गरिएको छ ।