नौगाड गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस ९ देखि सञ्चालन हुने

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा यहि पुस ९ देखि १२ गते सम्म पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ । गाउँपालिकाको बुधबार बसेको बैठकले गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि पुस ९ गते देखि १२ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका ७ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहने प्रतियोगिता गाउँपालिकाको वडा नम्बर ४ मा रहेको गणेश विनायक माध्यमिक विद्यालय सिप्टीको खेलमैदानमा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा १८ वर्ष मुनिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले मात्रै सहभागी हुन पाउने छन् । प्रतियोगितामा छात्र/छात्रा भलिबल, छात्र/छात्रा कबड्डी तथा एथ्लेटिक्स तर्फ छात्र/छात्राको १ सय, २ सय,४ सय, ८ सय, १५ सय, र ३ हजार मिटर ट्रयाक दौड सञ्चालन हुने गाउँपालिका अध्यक्ष दलजित सिह धामीले जानकारी दिए ।

त्यस्तै ४ गुणा १ सय मिटर र ४ गुणा ४ सय मिटर रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटफुट प्रतियोगिता सञ्चालन हुने उनले बताए । यस्तै ज्याभलिङ थ्रो छात्रको ८ सय ग्राम र छात्राको ६ सय ग्राम तथा सटफुट छात्रको १२ पाउण्ड र छात्राको ८ पाउण्डको बताइएको छ । प्रतियोगितामा सहभागी विद्यार्थीहरुको विवरण राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (संशोधन सहित) को अनुसूची –१ बमोजिमको फारम सहित मिति पुस ५ गते सम्म बुझाईसक्नुपर्ने छ ।

Leave A Reply

Your email address will not be published.