धनगढीमा देवर–भाउजु ब्राउन सुगरसहित पक्राउ, टीकापुरमा थप तीन जना नियन्त्रणमा

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकामा एकै घरका देवर–भाउजु ब्राउन सुगरसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१० बस्ने राम मिलन रानाको घरमा अवैध लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले घर तलासी गर्दा ब्राउन सुगर फेला पारेको हो। तलासीका क्रममा राम मिलन रानाकी २० वर्षीया श्रीमती द्रोपती रानाको साथबाट २ ग्राम १४० मिलिग्राम र उनका १७ वर्षीय देवर महेश रानाको साथबाट १४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय धनगढी तथा लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले मंगलबार दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
यसैगरी, कैलालीको टीकापुर नगरपालिका–९ स्थित खक्रोला चेकपोष्टबाट लागुऔषधसहित थप दुई जना पक्राउ परेका छन्। चेकजाँचका क्रममा बर्दियाको राजापुर नगरपालिका–४ घुम्ना बस्ने २१ वर्षीय राजेश थारु र संघर्षनगर बस्ने २३ वर्षीय इन्द्रबहादुर थारुको साथबाट २ ग्राम ९०० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ। उनीहरुलाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
त्यसैगरी, टीकापुर नगरपालिका–९ खक्रोला चेकपोष्टबाटै लम्किचुहा नगरपालिका–४ कौवापुर बस्ने २६ वर्षीय सुनिल मल्ल पनि पक्राउ परेका छन्। मल्लले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१० प ८१३५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सिटभित्र लुकाई राखिएको २ ग्राम ९८० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ। लागूऔषध, मोटरसाइकलसहित मल्ललाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।

Leave A Reply

Your email address will not be published.