दार्चुला । ९९ वर्षीय प्रजातान्त्रिक सेनानी तथा मालिकार्जुन गाउँपालिका–८ पस्ती बोरेपानी निवासी अकबर पन्त र नेपाली कांग्रेस दार्चुलाका युवा नेता तथा मालिकार्जुन गाउँपालिकाका निवर्तमान अध्यक्ष नरेन्द्र सिंह धामीबीच उहाँकै निवासमा आत्मीय भलाकुसारी तथा विचार–विमर्श भएको छ।
लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका पन्तसँग धामीले भेटघाट गर्दै प्रजातन्त्र, राजनीति र समसामयिक अवस्थाबारे गहन छलफल गर्नुभएको हो। भेटका क्रममा पन्तले आफ्नो जीवनभरको राजनीतिक यात्रा स्मरण गर्दै प्रजातन्त्र स्थापनाका लागि खेप्नुपरेका संघर्ष, र त्यागका अनुभवहरू सुनाउनुभएको थियो।
प्रजातान्त्रिक सेनानी पन्तले नेपालमा प्रजातन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले खेलेको भूमिकाको खुलेर प्रशंसा गर्दै पार्टीप्रतिको आफ्नो अटुट विश्वास अझै कायमै रहेको बताउनुभयो। उहाँले अन्तिम समयसम्म पनि नेपाली कांग्रेसमै मतदान गर्ने आफ्नो भावना व्यक्त गर्दै त्यसलाई आफ्नो अन्तिम इच्छा जस्तै ठान्नुभएको उल्लेख गर्नुभयो।
पन्तले कांग्रेसको इतिहास केवल सत्ता प्राप्तिमा सीमित नरहेको उल्लेख गर्दै जनताको अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण नै पार्टीको मूल पहिचान भएको धारणा राख्नुभयो। पछिल्लो समय राजनीतिप्रति जनविश्वास कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले इमानदार, त्यागी र जनमुखी नेतृत्व आजको आवश्यकता भएको बताउनुभयो। साथै, युवापुस्ताले प्रजातन्त्रको मूल्य र इतिहास बुझेर राजनीतिमा सक्रिय हुनुपर्ने सुझाव दिनुभयो।
भेटमा नेपाली कांग्रेस दार्चुलाका युवा नेता तथा निवर्तमान गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले अकबर पन्तजस्ता अग्रज प्रजातान्त्रिक सेनानीहरू पार्टीका जीवित इतिहास भएको बताउनुभयो। उहाँले पन्तले देखाएको त्याग, साहस र लोकतन्त्रप्रतिको निष्ठा आजका नेता तथा कार्यकर्ताका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्नुभयो। धामीले लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
भलाकुसारीका क्रममा समसामयिक राजनीतिक अवस्था, स्थानीय तहको विकास, गाउँपालिकामा भएका उपलब्धि र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा पनि छलफल भएको थियो। पन्तले स्थानीय तहले जनताको दैनिकीसँग जोडिएका शिक्षा, स्वास्थ्य, सडक र रोजगारीका समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव दिनुभयो।
स्थानीयस्तरमा प्रजातान्त्रिक आन्दोलनका जिउँदा साक्षी मानिने अकबर पन्तसँग भएको यस भेटलाई कांग्रेस कार्यकर्ता तथा स्थानीय बासिन्दाले सकारात्मक रूपमा लिएका छन्। धेरैले यस भेटघाटलाई पुस्तान्तरणको राजनीतिक संवादका रूपमा व्याख्या गर्दै पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच सेतु निर्माण भएको बताएका छन्।
उक्त भेटले लोकतान्त्रिक मूल्य, आदर्श र नेपाली कांग्रेसप्रतिको विश्वासलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ छ। प्रजातन्त्रका लागि जीवन समर्पण गरेका पन्तको भावना र सन्देशले स्थानीय राजनीतिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।