दार्चुला । भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माको नेतृत्वमा आएको टोलीले दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको स्थलगत निरीक्षण गरेको छ । राजदूत शर्मा नेतृत्वको टोलीले बिहीबार बिहान दार्चुलाको असिगाडास्थित महाकाली नदीमाथि निर्माण भएको नेपाल–भारत जोड्ने मोटरेबल पुलको निरीक्षण गरेको हो । बुधबार भारतको धार्चुला पुगेको राजदूत शर्माको टोलीले बिहीबार बिहान नेपालतर्फ निर्माणाधीन विभिन्न संरचनाको निरीक्षण गरेको जनाएको छ ।
निरीक्षणका क्रममा राजदूत शर्माले पुल सञ्चालनका लागि आवश्यक संरचना निर्माण तथा प्रक्रिया छिट्टै अगाडि बढाउन कूटनीतिक पहल गरिने बताएको दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी विनोद दाहालले जानकारी दिए । दुवै देशतर्फ आवश्यक संरचना निर्माण गरी छिट्टै पुल सञ्चालनमा ल्याउन पहल गरिने उहाँको भनाइ रहेको छ । यसका साथै राजदूत शर्मासहितको टोलीले जिल्ला सदरमुकामस्थित झोलुङ्गे पुल तथा सदरमुकाम क्षेत्रको समेत निरीक्षण गरेको छ ।
टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहाल, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो । यो मोटरेबल पुल २०७९ असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री सीएम पुष्करसिंह धामीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो । पुल भारतीय कम्पनी पीएण्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाले निर्माण गरेको हो । यसको कुल लागत ३२ करोड ९८ लाख भारतीय रुपैयाँ रहेको बताइएको छ ।