दार्चुला । जिल्ला समन्वय समिति दार्चुलाको आयोजनामा स्थानीय तहको असल अभ्यास तथा सिकाइ अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय तहहरुले रोजगारी सिर्जना, गरिबी निवारण, जनस्तर सुधार, दिगोपना, सुशासन, नागरिक सहभागीता, सामाजिक समावेशीकरण, सेवाप्रवाह लगायत विभिन्न क्षेत्रमा गरेका असल तथा नमूना कामहरूको बारेमा जानकारी आदान प्रदान गरिएको छ । आ आफ्नो पालिकाले गरेका महत्वपूर्ण तथा प्राथमिकताका कामहरूबारे पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूले प्रस्तुति गरेको जिल्ला समन्वय समिति दार्चुलाले जनाएको छ ।
असल अभ्यासहरूको आधारमा जिल्लाबाट एक नगरपालिका र एक गाउँपालिका छनोट गरि प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा प्रस्तुति गरिने समन्वय अधिकारी गणेश बहादुर पालले जानकारी दिए । जिल्ला समन्वय समिति अध्यक्ष महादेव बडू अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लास्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू लगायत सरोकारवालाहरूको उपस्थिति रहेको उनले बताए ।