दार्चुला । हिमाली जिल्ला दार्चुलामा आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि ९२ हजार ९ सय ४८ जना मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा अहिले जिल्लामा मतदाताको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो निर्वाचनसम्म यहाँको कूल मतदाता संख्या ९० हजार ७८२ जना मात्र थियो ।
अहिले भने दुई हजार एक सय ६६ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिकसँगै जिल्लाको कूल मतदाता संख्या ९२ हजार ९ सय ४८ जना कायम भएको जानकारी दिए ।
जसअनुसार पुरुषको सङ्ख्या ४७ हजार सात सय ५५ जना र महिला ४५ हजार एक सय ९३जना मतदाता रहेको उनले जानकारी दिए । निर्वाचन कार्यालयको विवरण अनुसार जिल्लाको पालिका अनुसारको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् । स्थानीय तह अनुसार शैल्यशिखर नगरपालिकामा १५ हजार पाँच सय १६ जना, महाकाली नगरपालिकामा १४ हजार एक सय ४३ जना ,मालिकार्जुन गाउँपालिकामा ११ हजार आठ सय ७८,जना लेकम गाउँपालिकामा १० हजार तीन सय ११,जना नौगाड गाउँपालिकामा १० हजार ८८ जना मतदाता कायम भएका छन् ।
यस्तै मार्मा गाउँपालिकामा ९ हजार छ सय १३ जना ,दुहुँ गाउँपालिकामा ८ हजार चार सय ४१ जना, व्यासँ गाउँपालिकामा ८ हजार एक सय ६२ जना , र अपिहिमाल गाउँपालिकामा ४ हजार सात सय ९६ जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लामा मतदानस्थल ११२ र मतदान केन्द्र १४३ कायम गरिएको छ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले पनि अहिले आवश्यक तयारी गरिरहेको सूचना अधिकारी जोशीले जानकारी दिए । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा दार्चुलामा सुरक्षा तथा प्राविधिक तयारी तीव्र बनेको छ।