दार्चुला । भक्तपुरको लोकन्थलीमा आज बिहान भएको सवारी दुर्घटनामा दार्चुलाको नाैगाड-१ साङपाङ घर भएकी स्वस्तिका ऐर (बडाल) को मृत्यु भएको छ । दुर्घटनामा ३२ वर्षीया स्वस्तिका ऐर बडालको मृत्यु भएको हो । मोटरसाइकल चालक उनका श्रीमान् दार्चुला घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने ३४ वर्षीय करण सिंह बडाल गम्भीर घाइते भएका छन् ।
काठमाडौँबाट भक्तपुरतर्फ जादैँ गरेको बा २३ प ९२३४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको डिजेल बोकेको ना ७ ख ९२६६ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो ।
घाइते बडालको उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका डीएसपी नमराज ढुंगानाले बताए ।
प्रहरीले दुवै सवारीसाधन र ट्यांकर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्ज बस्ने २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएर लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।