दार्चुला । मालिकार्जुन गाउँपालिका दुई वडाका विभिन्न बस्तीलाई लक्षित गरी सञ्चालनमा रहेको शंकरपुर–हुनैनाथ बृहत् खानेपानी योजना सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ । शंकरपुर–हुनैनाथ बृहत् खानेपानी योजना उपभोक्ता समितिले आयोजना गरेको बैठक बुधबार (आज ) पस्तीमा सम्पन्न सम्पन्न भएको हो ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन डिभिजन कार्यालय (पूर्व कञ्चनपुर, हाल डडेल्धुरा) मार्फत गत वर्ष ठेक्का सम्झौता भई हाल निर्माणाधीन अवस्थामा रहेको योजनाका सन्दर्भमा देखिएका समस्या समाधानका लागि बैठक आयोजना गरिएको थियो ।
उपभोक्ता समितिका अध्यक्ष मदन सिंह धामीको अध्यक्षतामा बसेको बैठकले खानेपानी आयोजनाको डीपीआर अनुसार मालिकार्जुन गाउँपालिका वडा – ८ को धामीगाडा मुहानबाट पानी संकलन गरी वडा- ८ का थुम, पलबिशा, गोरेकाडा, नारकाडा, बोरेपानी, पौणला, अडाखान बजार क्षेत्र, शिवमन्दिर, सिराडी, कोटिला तथा वडा नम्बर ४ का चोल्थी र कोटिला लगायतका सबै घरधुरीमा खानेपानी सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ ।
तर हाल निर्माण कार्य सञ्चालनकै क्रममा वडा ८ का केही बस्ती तथा वडा नम्बर ४ का चोल्थी र तल्लो कोटिलाका ४० भन्दा बढी घरधुरीमा योजना बाहिर परेको जनगुनासो आएपछि समन्वय बैठक बोलाइएको अध्ययक्ष मदन सिंह धामीले जानकारी दिए । बैठकमा मालिकार्जुन गाउँपालिकाका निबर्तमान अध्यक्ष नरेन्द्र सिंह धामी, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा – ८ र -४ का जनप्रतिनिधि, उपभोक्ता समिति, सरोकारवाला पक्ष तथा योजना कार्यान्वयन निकाय खानेपानी तथा ढल व्यवस्थापन डिभिजन कार्यालय डडेल्धुराका इन्जिनियर र साइड इन्चार्जको सहभागिता रहेको थियो। डिभिजन कार्यालयका तर्फबाट इन्जिनियर ई. सोनम अवस्थी र सब–इन्जिनियर कृष्णप्रसाद बडू बैठकमा उपस्थिति रहेका थिए।
कार्यक्रममा बोल्दै निबर्तमान अध्यक्ष नरेन्द्र सिंह धामीले योजना कार्यान्वयन भइरहेकै अवस्थामा छुट हुन गएका वडा ८ तथा वडा ४ का तल्लो कोटिला र चोल्थी बस्तीका ४० भन्दा बढी घरधुरीमा अनिवार्य रूपमा धाराहरू वितरण गरिनुपर्ने माग राखेका छन् । उनले यस विषयमा मालिकार्जुन गाउँपालिकाले आवश्यक पहल गर्नुपर्ने र खानेपानी तथा ढल व्यवस्थापन डिभिजन कार्यालयले यो समस्या आफ्नो च्यानलमार्फत खानेपानी विभागसम्म पुर्याउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
त्यसैगरी बैठकमा खानेपानी तथा ढल व्यवस्थापन डिभिजन कार्यालय डडेल्धुराका इन्जिनियर तथा योजना साइड इन्चार्ज ई. सोनम अवस्थीले आजको समन्वय भेलाबाट भएका निर्णय बमोजिम छुट भएका बस्तीका सबै घरधुरीमा खानेपानी सेवा पुर्याउन कार्यालय तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । समन्वय बैठकले स्थानीय जनगुनासोलाई सम्बोधन गर्दै योजनाको दायरा विस्तार गरी सबै लक्षित बस्तीका घरधुरीमा स्वच्छ खानेपानी सेवा पुर्याउने दिशामा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन् ।
