दार्चुलामा २ कोठे ५ विद्यालय भवन निर्माण हुँदै

दार्चुला । दार्चुलामा ५ वटा नयाँ विद्यालय भवन निर्माण हुने भएका छन् । सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत जिल्लामा स्थापना भएको सामाजिक विकास कार्यालय मार्फत उक्त विद्यालय भवनहरु निर्माण गरिन लागेका हुन् ।

विद्यालय भौतिक पुर्वाधार निर्माण कार्य अन्तरगत जिल्लाभरी ५ वटा नयाँ विद्यालय भवन २ कोठे निर्माण गरिने सामाजिक विकास कार्यालय दार्चुलाका कार्यालय प्रमुख रामचन्द्र ओझाले जानकारी दिए । चालु आर्थिक वर्षको असारमसान्त सम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी २ कोठे विदालय भवन निर्माणको काम अगाडी बढिरहेको उनले बताए । भवन निर्माणका लागि ५ वटै विदालयसंग सम्झौता गर्ने काम सकेर काम सुचारु गर्ने तयारी गरिएको उनले बताए ।

डिजाइन र स्टीमेट सहितको नमुना सम्झौता पत्रमा विद्यालयका प्रतिनिधि र कार्यालयका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । शिक्षाको गुणस्तर बृद्धि गर्न भौतिक पुर्वाधार आवश्यक रहेको भन्दै सामाजिक विकास मन्त्रालयले जिल्लाका विभिन्न स्थानीय तहका विद्यालयहरुमा २ कोठे विद्यालय भवन निर्माण गर्न चालु आवमा बजेट विनियोजन गरेको कार्यालय प्रमुख ओझाले जानकारी दिनुभयो ।मन्त्रालयले जिल्लामा २ कोठे विद्यालय भवन निर्माणको लागि १ करोड २५ लाख रुपैँया बजेट विनीयोजन गरिएको छ ।

सामाजिक विकास कार्यालय दार्चुलाका कार्यालय प्रमुख रामचन्द्र ओझाले दिएको जानकारी अनुसार जिल्लाको व्यासँ गाउँपालिकामा भुमिराज आधारभुत विद्यालय सल्याडीमा २ कोठे विद्यालय भवन निर्माण हुनेछ । यस्तै शैल्यशिखर नगरपालिकाको भैरबनाथ आधारभुत विद्यालय दोबाटामा २ कोठे विद्यालय भवन निर्माण गरिने उनले बताए ।

यस्तै मालिकार्जुन गाउँपालिकाको गरडा मावि बाकुमा २ कोठे विद्यालय भवन निर्माण हुनेछ । लेकम गाउँपालिकाको खोदाइनाथ आधारभुत विद्यालय र महाकाली नगरपालिकाको मालिकार्जुन आधारभुत विद्यालय पौँनेखोलामा २ कोठे विद्यालय भवन निर्माण हुने सामाजिक विकास कार्यालय दार्चुलाले जनाएको छ । २ कोठे विद्यालय भवन निर्माण गर्न मन्त्रालयले प्रति विद्यालय २५ लाख रुपैँया बजेट छुट्याएको छ ।

Leave A Reply

Your email address will not be published.