दार्चुला । जिल्ला कारागार दार्चुलामा छ महिनादेखि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य जाँच र उपचारमा समस्या देखिएको छ । जेलर सरिता चन्दका अनुसार, अहेबअनुसार दरबन्दी भए पनि साउनयता कुनै स्वास्थ्यकर्मी खटिएका छैनन् । सामान्य बिरामी हुँदा पनि कैदीबन्दीलाई जिल्ला अस्पताल लैजानुपर्छ। कारागारदेखि अस्पताल करिब ५०० मिटर मात्र भए पनि सवारीसाधन नहुँदा सुरक्षाकर्मीको साथमा पैदल जानुपर्ने अवस्था छ ।
चिसो मौसमसँगै बिरामीको सङ्ख्या बढिरहेको छ। जेलरका अनुसार अधिकांश कैदीबन्दीमा पाइल्सको समस्या देखिएको छ, जसको मुख्य कारण व्यायाम अभाव हुनसक्छ। स्वास्थ्यकर्मी नहुँदा विशेषगरी ज्येष्ठ नागरिक र अपाङ्गता भएका कैदीबन्दीको हेरचाहमा समस्या थपिएको छ ।
दार्चुला ‘घ’ श्रेणीको कारागारको क्षमता ४० जना भए पनि हाल ९१ जना कैदीबन्दी छन्। पुरुष २५ र महिला १५ को क्षमतामा अहिले ७० पुरुष र २१ महिला कैदी राखिएका छन्। महिला कैदीबन्दी नभएकाले पुरुषलाई महिला वार्डमा राखिएको छ, र नयाँ महिला कैदी आएपछि व्यवस्थापन चुनौतीपूर्ण हुने जेलर चन्दले बताए ।
कारागार भवन २०३८ सालमा निर्माण भएको र हाल जीर्ण अवस्थामा रहेको छ। शौचालय र सुत्ने स्थानको कमीले पनि स्वास्थ्य र बास व्यवस्थापनमा कठिनाइ बढाएको छ। जेलरले आगामी गर्मी मौसममा बास व्यवस्थापन अझ चुनौतीपूर्ण हुने बताए ।