दार्चुला। दार्चुलाका दुई विद्यालय ‘नमुना’ विद्यालयका रुपमा निर्माण गरिने भएको छ । जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिका मध्ये दुई गाउँपालिकाका दुई विद्यालय ‘नमुना’ विद्यालयका रुपमा निर्माण गरिने सामाजिक विकास कार्यालय दार्चुलाले जनाएको छ ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालय दार्चुला मार्फत दुई विद्यालय भवन निर्माण गरिने सामाजिक विकास कार्यालय दार्चुलाका कार्यालय प्रमुख रामचन्द्र ओझाले जानकारी दिए ।
उनका अनुसार व्यास गाउँपालिकाको सम्पाल मावि सुन्सेरा र मार्मा गाउँपालिकाको लटिनाथ मावि विद्यालयलाई ‘नमुना’ विद्यालयका रुपमा निर्माण गरिने बताएका छन् । गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार अपरिहार्य हुनुपर्ने नीति अनुसार दुई विद्यालय ‘नमुना’ विद्यालयका रुपमा निर्माण गरिने छन् ।
भवन निर्माणका लागि दुबैपक्षविच सम्झौता समेत भइसकेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा निर्माण पूरा गर्ने गरी विद्यालय भवन निर्माणको काम अगाडि बढाइने बताइएको छ । विद्यालय निर्माणका लागि १ करोड १० लाख रुपैँया बजेट छुट्याएको छ । सामाजिक विकास कार्यालयले प्रति विद्यालय ५५/५५ लाख रुपैँया बजेट दिने तयारी गरेको छ ।