दार्चुला । दार्चुलामा शान्ति तथा सामाजिक सद्भाव कायम गर्न प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको संयोजकत्वमा जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला शान्ति तथा सामाजिक सद्भाव समितिको बैठकले समिति गठन गरेको हो । जिल्ला भित्र धार्मिक एवम् सामाजिक, सांस्कृतिक सद्भाव र सहिष्णुता कायम गर्न समिति गठन गरिएको हो ।
जिल्ला शान्ति तथा सामाजिक सद्भाव समितिका संयोजक प्रमुख जिल्ला अधिकारीको संयोजकत्व रहेको समितिमा सुरक्षा निकायका प्रमुख, राजनितिक दल, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, जिल्ला समन्वय समिति सदस्य रहेका छन् । गृह मन्त्रालयको निर्देशन अनुसार जिल्लाको शान्ति सुरक्षा र धार्मिक एवम् सामाजिक सांस्कृतिक सद्भाव कायम गर्न समिति गठन गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।
समितिमा आवश्यकता अनुसार जिल्ला स्थित सामाजिक, सांस्कृतिक एवम् धार्मिक क्षेत्रका अगुवाहरुलाई समेत समावेश गर्ने उनले बताए । कानूनले निषेध गरेका कार्य गर्ने जो सुकैलाई पनि कानूनी दायरामा ल्याई कारवाही गर्ने समेत बैठक पछि निर्णय गरिएको उनले जानकारी दिए ।
यस्तै अवैध गतिविधि गर्ने र अवाञ्छित क्रियाकलाप गर्ने व्यक्तिहरुको आवगनलाई निषेध गर्न सीमा क्षेत्रमा कडाईका साथ चेकजाँच गर्ने व्यवस्था मिलाउने, जिल्ला स्थित सबै स्थानीय तहहरुले समेत आ–आफ्नो स्थानीय तहमा समुदायस्तरमा समन्वयात्मक तथा प्रवद्धनात्मक कार्यक्रमहरु संचालन गर्ने र जिल्लामा शान्ति तथा सामाजिक सद्भाव कायम गर्न रेडियो एफ.एम. बाट स्थानीय भाषामा कार्यक्रम सञ्चालन गर्न र पत्रकार तथा आम सञ्चारकर्मीहरुलाई समेत आवश्यक सूचना सम्प्रेषण गरिदिनका लागि अनुरोध गर्ने निर्णय गरिएको छ । बैठकमा जिल्ला स्थित राजनितिक दलका नेताहरु, नागरिक समाज, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, सुरक्षा निकाय र विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।