दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा -६ उल्लानीमा रहेको शैल्य आधारभूत विद्यालयमा कार्यरत शिक्षक देव राज बिस्टको शुक्रबार एक कार्यक्रमका बीच भव्य विदाई गरिएको छ । करिब ३९ वर्ष ८ महिना २० दिन शिक्षण पेशामा समर्पित बिस्ट अनिवार्य अवकासमा गएपछि विद्यालय परिवार तथा स्थानीय समुदायले सम्मानसहित विदाई गरेका हुन् ।
वि.स. २०४३ साल बैशाख २ गतेदेखि २०८२ साल पौष २२ गतेसम्म शिक्षण पेशामा आबद्ध रहनुभएका बिस्टले १८ वर्ष मालिकार्जुन गाउँपालिका–३ स्थित लटिनाथ आधारभूत विद्यालय बसेडीमा र २१ वर्ष ८ महिना २० दिन शैल्य आधारभूत विद्यालय उल्लानीमा सेवा प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्यापक तारा सिंह धामीले जानकारी दिनुभयो ।
शिक्षक बिस्टले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा उल्लेखनीय योगदान पुर्याउनुका साथै १० हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष समेत स्थापना गर्नुभएको छ । दुई दशकभन्दा बढी समय श्री शैल्य आधारभूत विद्यालय उल्लानीमा सेवा गर्दै आउनुभएका बिस्टको योगदानको कदर गर्दै विद्यालय परिवार तथा स्थानीयवासीहरूले भव्य रुपमा विदाई कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक धामीले बताउनुभयो ।
विद्यालयमा आयोजित विदाई समारोहमा शैल्यशिखर नगरपालिका वडा नम्बर–६ का वडा सदस्य पदम सिंह धामी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विर सिंह धामी, प्रधानाध्यापक तारा सिंह धामी, विद्यालयका शिक्षक–कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमका बीच शिक्षक बिस्टलाई फूलमाला, अबिर र सम्मानपत्रसहित सम्मान गर्दै विदाई गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा वक्ताहरूले शिक्षक बिस्टले विद्यालयको चौतर्फी विकास तथा विद्यार्थीको भविष्य निर्माणमा पुर्याएको योगदानको प्रशंसा गर्दै उहाँको सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना व्यक्त गरेका थिए ।
