दार्चुला । मार्मा गाउँपालिकाले गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूलाई हालै गरिएको शैक्षिक निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
शैक्षिक गुणस्तर सुधारको लागि गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापकहरूको पौष २५ गते गाउँपालिकाको सभाहलमा सम्पन्न बैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्न गाउँपालिका अन्तरगतका सबै विद्यालयलाई अनुरोध गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र प्रसाद जोशीले जानकारी दिए ।
बैठकले गरेका निर्णयहरू कार्यान्वयनका लागि सोमबार गाउँपालिकाले सूचना जारी गर्दै विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक सबैलाई आ–आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्न निर्देश गरेको छ । पालिकाभित्रका विद्यालयहरुले माघको तेस्रो हप्ताभित्र पाठ्यक्रमले निर्धारण गरेको विषयवस्तुको एक चरणको सिकाइ सहजीकरण अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने र त्यसपछि पुनरावृत्तिका शैक्षिक गतिविधि सञ्चालन गर्न भनेको छ ।
त्यसैगरी हरेक शनिबार तथा सार्वजनिक बिदाका दिन कक्षा ५, ८, १० र १२ को नतिजा कमजोर भएका विषयहरूमा विशिष्टीकरण तालिकामा आधारित नमुना प्रश्नपत्र निर्माण गरी परीक्षा सञ्चालन गर्ने निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको छ ।
गाउँपालिकाले बालबालिकाको शैक्षिक उपलब्धि सुधारका लागि अभिभावकहरूलाई पनि जिम्मेवार बनाउँदै विद्यार्थीलाई नियमित विद्यालय पठाउन, विद्यालयमै गरेर सिक्ने वातावरणमा सहभागी गराउन तथा घरमै पनि सिकाइको अनुगमन गरी पृष्ठपोषण दिन आग्रह गरेको छ । गाउँपालिकाले निर्णय कार्यान्वयनको नियमित अनुगमन गरिने र अपेक्षित प्रगति नदेखिए आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।
