बडूको निर्वाचनबाट विश्रामसँगै दार्चुला कांग्रेसमा नेतृत्व पुस्तान्तरणको बहस तीव्र

गणेश सिंह धामी

दार्चुला । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नलड्ने औपचारिक घोषणा गरेसँगै दार्चुलामा नेपाली कांग्रेसको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयले राजनीतिक वृत्त तताएको छ। लामो समयदेखि दार्चुला कांग्रेसको केन्द्रीय अनुहारका रूपमा परिचित बडूको यो निर्णयलाई यहाँको कांग्रेस राजनीतिमा पुस्तान्तरण र समयअनुकूल रुपान्तरणको स्पष्ट संकेतका रूपमा हेरिएको छ।
बडूले निर्वाचन नलड्ने घोषणा गरेपछि दार्चुला कांग्रेसभित्र फागुन २१ का लागि भावी नेतृत्वबारे व्यापक छलफल सुरु भएको छ। यही सन्दर्भमा पछिल्लो समय नरेन्द्र सिंह धामी, ललित सिंह बोहरा, जगदीश बहादुर पाल, पुलेन्द्र कार्की र गणेश भट्टको नाम सम्भावित नेतृत्वका रूपमा चर्चामा आएका छन्। यी नेताहरूको राजनीतिक पृष्ठभूमि, जनआधार, संगठनभित्रको भूमिका र नेतृत्व क्षमताका आधारमा फरक–फरक विश्लेषण भइरहेका छन्।
हाल नेपाली कांग्रेस दार्चुलाका जिल्ला सभापति ललित सिंह बोहरा दोस्रो कार्यकालमा नेतृत्व सम्हालिरहेका छन्। संगठन निर्माण, कार्यकर्ता व्यवस्थापन र पार्टी संरचनालाई चलायमान बनाउने भूमिकामा उनको योगदान उल्लेखनीय मानिन्छ। पार्टीभित्र अनुभव र निरन्तरताको प्रतीकका रूपमा हेरिने बोहराले जिल्ला नेतृत्वलाई स्थिर रूपमा अघि बढाउने क्षमता राख्छन् भन्ने मत बलियो छ। तर आगामी निर्वाचनमा पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने करिश्मा र जनस्तरको आकर्षणको विषयमा भने पार्टीभित्र मिश्रित धारणा सुनिन्छ।
नरेन्द्र सिंह धामी पछिल्लो समय दार्चुला कांग्रेसका सबैभन्दा चर्चित नेतामध्ये एकका रूपमा उभिएका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै मालिकार्जुन गाउँपालिकाको अध्यक्ष बनेका धामीले विकास र जनसेवाका कारण सकारात्मक छवि निर्माण गरेका थिए। सडक, शिक्षा, खानेपानीजस्ता आधारभूत पूर्वाधार विकासमा खेलेको भूमिकालाई स्थानीयवासीले सराहना गर्दै आएका छन्। २०७९ को निर्वाचनमा पराजित भए पनि उनी जनतासँग निरन्तर सम्पर्कमा रहँदै आएका कारण “जनतासँग नजिक नेता”का रूपमा चिनिन्छन्। यही जनआधारका कारण उनी दार्चुला कांग्रेसको भावी नेतृत्वका बलिया दाबेदार मानिन्छन्।
पुलेन्द्र कार्की पनि स्थानीय तहको नेतृत्व अनुभव बोकेका नेता हुन्। उनले २०७४ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै दुहुँ गाउँपालिकाको अध्यक्ष जितेका थिए। आफ्नो कार्यकालमा स्थानीय शासन र विकासका सवालमा सक्रिय भूमिका खेलेको बताइन्छ। २०७९ मा पराजित भए पनि संगठनभित्र उनको प्रभाव पूर्ण रूपमा कमजोर नभएको कांग्रेस कार्यकर्ताहरूको भनाइ छ। अनुभव, सम्बन्ध र सम्भावनाका हिसाबले उनी पनि नेतृत्वको दौडमा छन्।
युवामाझ लोकप्रिय नेता मानिने जगदीश बहादुर पाललाई पनि भावी नेतृत्वका रूपमा हेरिन थालेको छ। उनी युवाको भावना बुझ्ने, संगठनमा ऊर्जा भर्ने र नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्ने क्षमतावान नेताका रूपमा चिनिन्छन्। त्यस्तै, गणेश भट्टको नाम पनि सम्भावित नेतृत्वका रूपमा चर्चामा छ। उनी युवामाझ चर्चामा नभए पनी वैचारिक स्पष्टता, संगठनात्मक क्षमताका कारण उनी कांग्रेसको आन्तरिक संरचना मजबुत बनाउन योगदान पुर्‍याउँदै आएका नेता हुन्।
यसैबीच, पूर्वमन्त्री बडूले विस्तारित बैठकमा आफूलाई एकल उम्मेदवारका रूपमा सर्वसम्मत प्रस्ताव गरिएको विषयप्रति आभार व्यक्त गर्दै औपचारिक रूपमा उम्मेदवार नबन्ने निर्णय सार्वजनिक गरेका छन्। उनले भनेका छन्, “मेरो स्पष्ट चाहना, सुझाव र प्रस्तावका बाबजुद पनि विस्तारित बैठकमा उपस्थित सम्पूर्ण शुभेच्छुक साथीहरूले सर्वसम्मत रूपमा मलाई नै एकल उम्मेदवारका रूपमा प्रस्ताव गर्नुभएकोमा पार्टी र सम्पूर्ण साथीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। तर उक्त पदका लागि पार्टीमा निरन्तर सक्रिय अन्य सक्षम र उपयुक्त साथीहरूमध्येबाट सुदृढ एकताका साथ सिफारिस गरी केन्द्रमा पठाउन पुनः अनुरोध गर्दछु।”
बडूले आफू उम्मेदवार नबन्ने निर्णयसँगै पार्टीका उम्मेदवारलाई विजयी गराउन पूर्ण शक्ति र क्षमताका साथ सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनले २०८२ मंसिर २५ र २६ गते सम्पन्न जिल्ला कार्यसमितिको विस्तारित बैठकमा देशको राष्ट्रिय राजनीतिक परिस्थिति, २०८२ भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन, त्यसका सामाजिक–राजनीतिक कारण, सकारात्मक र नकारात्मक पक्षबारे विस्तृत धारणा राखेको उल्लेख गरेका छन्। साथै, समयअनुकूल पार्टी रुपान्तरण, पुस्तान्तरण र युवाहरूको आकांक्षालाई सम्मान गर्दै आफूले उम्मेदवारीबाट विश्राम लिने स्पष्ट प्रस्ताव राखेको कुरा पनि उनले स्मरण गराएका छन्।
कुल मिलाएर, दिलेन्द्र प्रसाद बडूले फागुन २१ को निर्वाचनका लागी उम्मेदवारी छोडेसंगै दार्चुला कांग्रेसले नयाँ मोडमा प्रवेश गरेको छ। अब पार्टीले अनुभव, जनआधार, वैचारिक स्पष्टता र युवा आकर्षणबीच सन्तुलन मिलाउँदै कसलाई अगाडि सार्छ भन्ने विषय आगामी दिनमा स्पष्ट हुँदै जानेछ। फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा दार्चुला कांग्रेसभित्रको नेतृत्व बहस अझ तीव्र हुने निश्चित देखिन्छ।

Leave A Reply

Your email address will not be published.