दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दार्चुला कारागारलाई अस्थायी मतदान केन्द्र कायम गरिएको छ । कारागारका कैदी बन्दी, थुनुवा र निर्वाचनमा नखटिएका अस्थायी मतदाताका लागि मतदान गर्नका लागि कारागारलाई अस्थायी मतदान केन्द्र तोकिएको हो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक अनिल पौडेलका अनुसार कारागारलाई अस्थायी मतदान केन्द्र तोकिएको बताए । कारागारमा रहेका कैदी, थुनुवा र जिल्लामा सङ्कलन भएका अस्थायी मतदातालाई मतदान गर्न उक्त मतदानकेन्द्र निर्वाचन आयोगले कायम गरेको बताए । कारागार जिल्ला प्रहरी कार्यालयको हाताभित्रै छ ।
सो मतदान केन्द्रमा कैदी, थुनुवा, अस्थायी मतदाता नामावली भएका तर निर्वाचनमा नखटिएका कर्मचारी, सुरक्षाकर्मी र सो मतदानकेन्द्रका लागि खटिएका कर्मचारीले प्रतिनिधि सभा अन्तर्गतको समानुपातिक मतदान कार्यमा भाग लिन पाउनु हुनेछ । हाल अस्थायी मतदाता नामावली सङ्कलन कार्य भइरहेको कारण मतदाताको सङ्ख्या भने अहिले नै भन्न सकिने अवस्था रहेको छैन । दार्चुलाका १५ मतदान स्थल तथा २२ वटा मतदान केन्द्रलाई सुरक्षाको दृष्टिले अति संवेदनशीलको सूचीमा राखिएको छ ।
यहाँका ११२ मतदान स्थलमध्ये १५ र १४३ मतदान केन्द्रमध्ये २२ वटा केन्द्रलाई सुरक्षाको दृष्टिबाट अति संवेदनशीलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक पौडेलले जानकारी दिए । ११२ मतदान स्थलमध्ये १५ वटा स्थल अति संवेदनशील, ३२ वटा संवेदनशील र ६५ वटालाई सामान्यको सूचीमा राखिएको छ ।
यस्तै १४३ मतदान केन्द्रमध्ये २२ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राख्दै सुरक्षाव्यवस्था कडा गरिएको छ ।
चार महिनाअघि गत कात्तिक १२ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले मतदान केन्द्रको वर्गीकरण गरेर गृह मन्त्रालयमा पठाइएको छ । जिल्लाका १४३ मतदान केन्द्रमध्ये बाँकी ४१ मतदान केन्द्रलाई संवेदनशील र ८० मतदान केन्द्रलाई सामान्यको सूचीमा राखिएको पनि उनले सरोकारवालाहरुलाई जानकारी दिएका छन् ।
यस विचमा नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, अपि हिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिकाका गरी १० वटा मतदान केन्द्रको स्थलगत अनुगमन समेत गरिएको छ । यस्तै १० मतदान केन्द्रहरुको प्रतिनिधिमुलक रुपमा अनुगमन गरिएको छ । बाकि मतदान केन्द्रहरुको मर्मत /घेराबार नभए मर्मत र घेराबारको लागि पालिका तथा वडा कार्यालयहरुलाइ लेखि पठाइएको । र मर्मत घेराबार भए नभएको यकिन गरि पठाउन र निरन्तर सम्पर्कको लागि स्थानिय सुरक्षा युनिटहरुलाइ निर्देशन दिइएको प्रजिअ पौडेलले बताए ।
गत विगतका निर्वाचन जस्तै यस वर्ष पनि व्यास गाउँपालिका–१, छाङरु र तिङ्करको मतदान जिल्ला सदरमुकाम खलङ्गामै हुने भएको छ । त्यहाँ बसोबास गर्ने सौका समुदायका मानिस सदरमुकाम खलङ्गामै रहेकाले मतदान खलङ्गामै गर्ने गरी निर्वाचन आयोगलाई लेखिपठाएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश भुवन गिरीले जानकारी दिए । दार्चुला जिल्ला अदालत रहेको पुरानो भवनमा कार्यालय स्थापना गरिएको छ ।