‘सपनाको झोला’ अभियानबाट बैतडीका विद्यार्थीलाई राहत

दार्चुला  । बैतडी जिल्लाको शिवनाथ गाउँपालिका–४ मा रहेको चन्द्रदेवल माध्यमिक विद्यालयमा अध्ययनरत ३०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। सामाजिक अभियन्ता हरिश कार्कीको अगुवाइमा सञ्चालन भइरहेको ‘सपनाको झोला’ अभियानअन्तर्गत विद्यार्थीहरूलाई कापी र कलम प्रदान गरिएको हो। साथै आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालयमै झोला र न्यानो लुगा समेत वितरण गरिएको छ।
बैतडी घर भएका हरिश कार्की सामाजिक सञ्जाल टिकटकमा ‘हेरि कार्की’ (Harry Karki) नामले चिनिन्छन्। उनी हाल सशस्त्र प्रहरी बलमा कार्यरत छन्। जागिरसँगै समाजसेवामा सक्रिय कार्कीले विगत करिब १० वर्षदेखि गरिब तथा असहायहरूलाई सानो–सानो सहयोग गर्दै आएका छन्। पछिल्लो समय ती सहयोगलाई व्यवस्थित रूपमा ‘सपनाको झोला’ अभियानमार्फत अगाडि बढाइएको हो।
‘सपनाको झोला’ नामाकरणको कारणबारे कार्की भन्छन्, “बालबालिकाको सपना विद्यालय जाने पहिलो दिनको झोलाबाटै सुरु हुन्छ। त्यो झोलाले भविष्य बोकेको हुन्छ भन्ने सोचका साथ अभियानको नाम राखिएको हो।” यही अवधारणाले प्रेरित भएर दुर्गम र पिछडिएका क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गरी अभियान सञ्चालन गरिएको उनले बताए।


यो अभियानमा हालसम्म देश तथा विदेशमा रहेका ५८ जना सहयोगीदाताले आर्थिक तथा सामग्री सहयोग गरेका छन्। उनीहरूको सहयोगबाट संकलित कापी, कलम, झोला र न्यानो लुगाहरू विभिन्न दुर्गम विद्यालयका विद्यार्थीहरूलाई वितरण गरिँदै आएको छ। चन्द्रदेवल माध्यमिक विद्यालयमा गरिएको सहयोग पनि यही अभियानको एक हिस्सा हो।
कार्कीले अभियान सुरु गर्नुको मुख्य कारण आफ्नो विगतको जीवन अनुभव रहेको बताउँछन्। “म आफैं गरिबी र अभावबीच हुर्किएको हुँ। पढ्ने चाहना हुँदाहुँदै पनि साधन नहुँदा कति गाह्रो हुन्छ भन्ने कुरा मैले नजिकबाट भोगेको छु,” उनले भने, “त्यही पीडाले मलाई आज अरूका लागि केही गर्न प्रेरित गरेको हो।”
उनका अनुसार दुर्गम क्षेत्रका धेरै विद्यालयमा अझै पनि विद्यार्थीहरू कापी–कलम किन्ने अवस्थासमेत नभएको देखिन्छ। “कतिपय ठाउँमा विद्यार्थीहरू खाली हात विद्यालय आएको देख्दा मन छोइन्छ,” कार्की भन्छन्, “त्यस्तो अवस्थामा सानो सहयोग पनि उनीहरूका लागि ठूलो राहत हुन्छ।”


सुरुवाती वर्षहरूमा सहयोग गर्दा उनले फोटो वा भिडियो सार्वजनिक नगरेको बताए। तर पछिल्लो समय सामाजिक सञ्जालमार्फत आफ्ना गतिविधि सार्वजनिक गर्न थालेका छन्। “राम्रो कामको प्रचार गर्दा आत्मप्रशंसा होइन, अरूलाई प्रेरणा मिल्दोरहेछ,” उनले भने, “त्यसैले अहिले सामाजिक सञ्जाललाई सकारात्मक सन्देश फैलाउने माध्यम बनाएको छु।”
विद्यालय प्रशासनका अनुसार यस्तो सहयोगले विद्यार्थीहरूको आत्मविश्वास बढाएको छ। “सामग्री पाएपछि विद्यार्थीहरू अझ उत्साहित भएका छन्,” विद्यालय स्रोतले जनाएको छ। अभिभावकहरूले पनि अभियानप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने बताएका छन्।


हरिश कार्कीले यसअघि पनि बैतडी लगायत विभिन्न जिल्लामा गरिब, असहाय र विपन्न समुदायलाई सहयोग गर्दै आएका छन्। खाद्यान्न, लत्ताकपडा तथा शैक्षिक सामग्री वितरण उनका नियमित सामाजिक गतिविधि बनेका छन्।
भविष्यमा ‘सपनाको झोला’ अभियानलाई अझ विस्तार गर्दै देशका अन्य दुर्गम जिल्लासम्म पुर्‍याउने योजना रहेको कार्कीले बताए। “मेरो उद्देश्य ठूलो नाम कमाउने होइन,” उनी भन्छन्, “यदि एउटा झोलाले पनि कुनै बालकको भविष्य उज्यालो बनाउँछ भने त्यो नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो।”
‘सपनाको झोला’ अभियानले बैतडीका विद्यार्थीहरूलाई मात्र होइन, समाजमा सकारात्मक सोच र सहयोग संस्कृतिको सन्देश पनि फैलाइरहेको छ।

Leave A Reply

Your email address will not be published.