दार्चुलामा २८.३० मेगावाटको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा थप मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

विटुले भन्दा माथिल्लो क्षेत्रमा २८ दशमलव ३० मेगावाटको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने भएको हो । यो क्षेत्रमा दार्चुला पावर प्रालिले जलविद्युत आयोजना अघि बढाउन लागेको हो ।

आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनको काम सुरु भएको कम्पनीले जनाएको छ । अध्ययनका क्रममा कम्पनीले आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको भौतिक, जैविक, प्राकृतिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पर्नसक्ने असरबारे सरोकारवालासँग राय÷ सुझाव माग गरेको छ ।

असरबारे सम्बन्धित सरोकारवालालाई अबको एक साताभित्र आइपुग्ने गरी राय सुझाव पठाउन अपिल गरिएको छ ।मार्मा गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ भएर बग्ने चमेलिया नदीको पानी प्रयोग गरी लामबगरमा बाँध निर्माण गरिने कम्पनीले जनाएको छ । बाँधमा जम्मा भएको पानी करिब ७ हजार ८० मिटर लामो हेडरेस पाइपमार्फत सतही विद्युतगृहमा खसाली विद्युत उत्पादन हुने गरी डिजाइन तयार गरिएको कम्पनीले जनाएको छ ।आयोजना सम्पन्न गर्न ६ अर्ब १८ करोड ९४ लाख ४४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।

यही खोलामा अहिले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणाधीन छ । आयोजनाको ४० प्रतिशत बढी काम पूरा भएको छ ।भने शैल्यशिखर नगरपालिकाको वडा नम्बर १ शिखर बलाँचमा ३० मेगावट चमेलिया जलविद्युत निर्माण भएको छ । अहिले निर्माणाधीन चमेलिया जलविद्युतको ड्याम अपिहिमाल गाउँपालिका ५ को ओखल नजिकै निर्माण गरेर मार्मा २ घट्टेगाडमा पावर हाउँस निर्माण गरिएको छ । विद्युत निर्माणपछि यो क्षेत्रमा विकासको ढोका खुला हुने विश्वास गरिएको छ । अहिले अपिहिमाल गाउँपालिकाको मकरीगाडमै १० मेगावटको मकरीगाड हाइड्रोपावर निर्माणाधीन छ, भने अपिहिमालको वडा नम्बर १ मा ६० मेगावाटको विद्युत उत्पादन गर्ने गरी सम्भाव्यता अध्ययनको काम भइरहेको छ ।

Comments are closed.