रास्वपा उम्मेदवार जनक सिंह धामीद्वारा मालिकार्जुन मन्दिर दर्शन ,र स्व. प्रेम सिंह धामीको सालिकमा माल्यार्पण
रास्वपा उम्मेदवार जनक सिंह धामीद्वारा मालिकार्जुन मन्दिर दर्शन र स्व. प्रेम सिंह धामीको सालिकमा माल्यार्पण
दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुर क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार जनक सिंह धामीले दार्चुलाको राष्ट्रिय धाम मालिकार्जुन मन्दिरको दर्शन गर्नुभएको छ। धार्मिक तथा सांस्कृतिक रूपमा अत्यन्तै महत्व बोकेको उक्त धाममा पुगेर उहाँले विशेष पूजाआजा गर्दै देश, समाज र जनताको सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको हो।
मालिकार्जुन मन्दिर दर्शन पश्चात उम्मेदवार धामीले स्वर्गीय नेता प्रेम सिंह धामीको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो। सो अवसरमा उहाँले स्व. प्रेम सिंह धामी एक विकासवादी, इमानदार र दूरदर्शी नेता भएको उल्लेख गर्दै उहाँबाट आफूले राजनीतिक तथा सामाजिक जीवनमा ठूलो प्रेरणा पाएको बताउनुभयो। “स्वर्गीय प्रेम सिंह धामीले देखाएको विकास र सेवाको बाटो आज पनि हामी सबैका लागि मार्गदर्शन हो,” उहाँले भन्नुभयो।

नेता जनक सिंह धामी पुर्ख्यौली घरमा पूजा–आजा गर्ने उद्देश्यले दार्चुला आएको बताउनुभयो। उहाँको पुर्ख्यौली जन्मघर दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर–६ मिलमिलीमा रहेको छ। सोही स्थानमा उहाँले पारिवारिक पूजा–आजा गर्दै आफन्त, स्थानीयबासी र शुभेच्छुकहरूसँग भेटघाट गर्नुभएको छ। उम्मेदवार धामीले स्थानीय जनताको अवस्था, समस्या र अपेक्षाबारे समेत जानकारी लिँदै विकास, सुशासन र जवाफदेही राजनीतिको आवश्यकता औंल्याउनुभयो। उहाँले आगामी दिनमा जनताको विश्वास जित्ने खालको राजनीति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
धार्मिक आस्था, पुर्ख्यौली सम्बन्ध र राजनीतिक सन्देशलाई जोड्दै गरिएको यो भ्रमणले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह हुने उहाँको भनाइछ।