दार्चुला । दार्चुलाका ६१ ओटै वडामा मतदाता शिक्षा स्वयंसेवक खटाइएको छ । निर्वाचन आयोगको कार्यक्रम अनुसार आइतबारदेखि ६१ ओटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा आएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
प्रत्येक वडामा एकजनाका दरले मतदाता शिक्षा स्वयंसेवक खटाइएको छ । मतदाता शिक्षा स्वयंसेवकहरुलाई आवश्यक तालिम दिएर उनीहरुलाई मतदाता शिक्षाका लागि खटाइएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्र प्रकाश जोशीले जानकारी दिए ।
मतदाता शिक्षा स्वयंसेवकहरुले नमूना मतपत्रसहित घरघरमा गएर मतदान गर्ने तरीकाका बिषयमा सिकाइरहेका छन् ।निर्वाचनमा बढीभन्दा बढी मतदाताहरुको सहभागिता गराउने र बदर मतको संख्या घटाउनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको आयोगले जनाएको छ ।
फागुन १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रममा सहभागि हुन आह्वान समेत गरिएको छ । प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९२ हजार ९४८ जना मतदाता रहेका छन् । प्रतिनिधि सभा सदस्यका लागि ११ जना चुनावी प्रतिस्पर्धा रहेका छन् ।