भगवतीमा एमाले परित्याग गरि १९ जना कांग्रेसमा प्रवेश

दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ भगवतीमा नेकपा एमाले परित्याग गर्दै १९ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेसको आयोजनामा सम्पन्न कार्यक्रममा उनीहरूले औपचारिक रूपमा पार्टी प्रवेश गरेको प्रचार प्रसार टोलिमा सहभागी दिपक सिंह खातीले जानकारी दिनुभयो। पछिल्लो समय उक्त क्षेत्रमा राजनीतिक गतिविधि तीव्र बन्दै गइरहेका बेला भएको यो प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको स्थानीयले बताएका छन।
कांग्रेसमा प्रवेश गर्नेहरूमा मदन सिंह धामी पदम सिंह धामी, किसन सिंह धामी, कल्यान सिंह धामी, पान सिंह धामी, बेलमती धामी, गौरा धामी, श्याम सिंह धामी, दिवान सिंह धामी लगायत रहेका छन्। अन्य कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार धर्मानन्द जोशीको उपस्थितिमा सम्पन्न कार्यक्रममा नवप्रवेशीहरूले आफूहरू स्वस्फूर्त रूपमा नेपाली कांग्रेसमा आबद्ध भएको बताएका छन्। उनीहरूले लोकतान्त्रिक मूल्य, विधिको शासन, पारदर्शिता र समृद्धिको एजेन्डा अघि बढाउन कांग्रेस नै उपयुक्त राजनीतिक शक्ति भएको विश्वास व्यक्त गरेका छन। “हामी आफ्नै घर फर्किएका हौँ,” भन्दै उनीहरूले आगामी दिनमा पार्टी संगठन विस्तार र जनताको सेवामा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए।
नेपाली कांग्रेसका नेता नरेन्द्र सिंह धामीले पछिल्लो समय मालिकार्जुन क्षेत्रमा एमालेप्रति असन्तुष्टि बढ्दै गएको र त्यसकै परिणामस्वरूप कांग्रेस प्रवेशको क्रम तीव्र भएको बताए। उनले १९ जनाको प्रवेशले वडा तहमा पार्टीको संगठनात्मक संरचना थप सुदृढ बनेको दाबी गरे।
कांग्रेसले गाउँ–टोल केन्द्रित अभियानलाई अझ तीव्र बनाउँदै जनाधार विस्तार गर्ने रणनीति अघि सारेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.