दार्चुलामा बजार अनुगमन, म्याद नाघेका सामग्री बरामद गरी नष्ट

दार्चुला । सदरमुकाम खलङ्गा क्षेत्रमा बजार अनुगमन गरिएको छ। विहिबार जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सहायक प्रमुख जिल्ला अधिकारी बिनोद दाहाल नेतृत्वको टोलीले बजार क्षेत्रको अनुगमन गरेको हो ।

महाकाली नगरपालिका वडा–४ खलङ्गा स्थित विभिन्न किराना तथा खुद्रा पसलहरूमा गरिएको अनुगमनका क्रममा म्याद नाघेका विभिन्न उपभोग्य सामग्रीहरू फेलापारी नष्ट गरिएको छ ।

अनुगमनका क्रममा व्यवसायीहरूलाई उपभोग्य वस्तुको म्याद, मूल्यसूची, सरसफाइ तथा बिल प्रणालीबारे सचेत समेत गराइएको छ । उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै आगामी दिनमा समेत नियमित रूपमा अनुगमनलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको हित विपरीत गतिविधि नगर्न र म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्री बिक्री वितरण नगर्न व्यवसायीहरूलाई आग्रह गरेको छ। साथै, उपभोक्तालाई पनि सचेत भई खरिद गर्दा म्याद र गुणस्तर जाँच गर्न अनुरोध गरिएको छ।

Leave A Reply

Your email address will not be published.