नेपाली कांग्रेस दार्चुलाको तर्फबाट प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार धर्मानन्द जोशी नेतृत्वको प्रचारप्रसार टोलीले मालिकार्जुन गाउँपालिकाका विभिन्न गाउँबस्तीमा घरदैलो तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ। टोलीले वडा नम्बर ४ को एरिछाना र औतालेक तथा वडा नम्बर ५ का मलतडी र डाडाकोटमा पुगेर आम मतदाता, पार्टीका अगुवा नेता तथा कार्यकर्तासँग भेटघाट गरेको कांग्रेस महासमिति सदस्य पदमराज पन्तले जानकारी दिए।
कोणसभालाई सम्बोधन गर्दै कांग्रेस महाधिवेशन प्रतिनिधि एवं पूर्व गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले दार्चुलाको भूगोल र स्थानीय भावनालाई आत्मसात गर्दै योग्य, सक्षम र स्वच्छ छवि भएका धर्मानन्द जोशीलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाइएको बताए। समानुपातिकतर्फ करबीर बहादुर कार्की जस्तो शिक्षाक्षेत्रमा योगदान गरेका व्यक्तित्वलाई अघि सारिएको उल्लेख गर्दै उनले विकास र जनताको आवाज संसदसम्म पुर्याउन रुख चिन्हमा मतदान गर्न अपिल गर्नुभयो।
प्रदेश कार्यसमिति सदस्य मदन गिरिले लोकतन्त्र, सुशासन र समृद्धिका लागि दूरदर्शी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै कांग्रेसलाई विजयी गराउन आग्रह गरेका छन। स्थानीय जगत धामीले कांग्रेस नेतृत्वमा गाउँमा सडक र सिँचाइ पुगेको अनुभव सुनाउँदै यसपटक विकासमुखी नेतृत्व रोज्ने बताए।
उम्मेदवार जोशीले आफूले संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति, मानवअधिकार र द्वन्द्व व्यवस्थापन क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव बटुलेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए। “म सांसद होइन, जनताको सेवक बनेर काम गर्नेछु,” उनले भने।
कार्यक्रममा कांग्रेसका प्रदेश, जिल्ला, पालिका र वडास्तरका नेताहरूको उपस्थिति रहेको थियो।
तस्बिर हेर्नुहोस :-
