दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले वडा सदस्यको मृत्युमा शोक मनाउन फागुन ११ गते आइतबार (आज) एकदिन सार्वजनिक बिदा दिएको छ । पालिका अध्यक्ष हिरा सिह धामीले शोक वक्तक्य जारी गदैँ आज पालिकाभरी बिदा दिएका हुन् ।
मालिकार्जुन गाउँपालिकाका वडा नं ५ का निर्वाचित वडा सदस्य बिरबहादुर पालको मृत्यु भएको र शोक मनाउन फागुन ११ गते एकदिनका लागि पालिकाभरी सार्वजनिक बिदा दिएको जनाएको छ ।
पालिकाले पालको मृत्युसँगै पालिकाका एक सालिन र कुशल जनप्रतिनिधि गुमाएको भन्दै दु:ख व्यक्त समेत गरेको छ । विगत लामो समयदेखी फोक्सोसम्बन्धि बिरामी रहेका ६५ वर्षीय पालको कञ्चनपुरमा निधन भएको बताइएको छ ।
डाडाकोटको लिमिती घर भएका समाजसेवी पालको निधन भएपछि गाउँ शोकमा डुबेको छ । मालिकार्जुनको वडा नं ५ मा नेकपा एमालेबाट निर्वाचित सदस्य पालको निधन भएको वडा अध्यक्ष मदन बहादुर चन्दले जानकारी दिएका छन् ।
