दार्चुला । फागुन २१ मा हुने आम निर्वाचनको पूर्वसन्ध्यामा जिल्लाको मार्मा गाउँपालिकामा आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस दार्चुलाका सचिव पुलेन्द्र बहादुर कार्कीले जेनजी आन्दोलनको मर्मलाई सम्बोधन गर्न नेपाली कांग्रेस आफैं परिवर्तन भएर चुनावी मैदानमा उत्रिएको बताएका छन्।
शनिबार मार्मा गाउँपालिकाको लटिनाथमा आयोजना भएको चुनावी आमसभामा बोल्दै उनले यस्तो बताएका हुन । उनले जेनजी आन्दोलन केवल नाराबाजी नभई देशमै रोजगारी सिर्जना गर्ने, नेपालमै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र समग्र देश विकासका लागि भएको स्पष्ट पारे।
“जेनजी आन्दोलन परिवर्तनका लागि थियो—देशमै गरिखाने वातावरणका लागि, नेपालमै राम्रो शिक्षा पाउने सुनिश्चितताका लागि, र समृद्ध राष्ट्र निर्माणका लागि,” उनले भने, “यही परिवर्तनको माग सम्बोधन गर्न कांग्रेसले पहिला आफूलाई परिवर्तन गर्यो, अब देश परिवर्तन गर्ने अठोटका साथ अघि बढेको छ।”जिल्ला कार्यसमिति सचिव कार्कीले पार्टीलाई जिल्लाबासीले दिएको विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै भने, “आफू बदलिएर नेपाली कांग्रेसले नेपाल बदल्ने संकल्प गरेको छ।”
कार्यक्रममा प्रदेश सभा सदस्य विक्रम सिह धामीले इतिहासका हरेक आन्दोलनको नेतृत्व र निकास नेपाली कांग्रेसले दिएको स्मरण गराउँदै जेनजी आन्दोलनको निकास पनि कांग्रेसबाटै सम्भव हुने दाबी गरे। कांग्रेसले जेनजी आन्दोलनको भावना आत्मसात गर्दै रूपान्तरणको एजेन्डासहित चुनावमा होमिएको सन्देश कोण सभामार्फत प्रवाह गरेको छ।