अपिहिमालमा वडा विभाजनको विषय पेचिलो बन्दै, माग सम्बोधन नभए निर्वाचनमा सहभागी नहुने चेतावनी

दार्चुला । दार्चुलाको विगट अपिहिमाल गाउँपालिकामा वडा विभाजनको प्रस्ताव पेचिलो बन्दै गएको छ । गाउँपालिकाको वडा नं ३ का स्थानीयहरुले वडा विभाजनको माग सम्बोधन नभए आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी नहुने भन्दै चेतावनी दिएका छन् ।

शनिबार आज लालसिह धामीको अध्यक्षतामा बसेको बैठकले वडा विभाजन नभए आसन्न फागुन २१ गते हुने निर्वाचनमा मतदान नगर्ने निर्णय गरिएको स्थानीय कमल सिंह रोकायले जानकारी दिएका छन् ।

‘हामीले यो माग २०७४ सालको निर्वाचन देखि नै उठाउदै आएका हौँ,जिल्लाका सबै राजनितिक दलहरुलाई यहाँको समस्याका बारेमा बताए पनि समस्या समाधान नहुने देखिएपछि यो निर्वाचनमा भाग नलिने निर्णयमा पुगेको उनले बताए ।

स्थानीयको भेलाले त्यहाँको भवानी आधारभुत विद्यालयमा राखिएको मतदान केन्द्रमा मतदान नगर्ने निर्णय गरिएको पनि उनले बताए । यो संगै गाउँपालिकाको वडा नं ३ अन्तरर्गत पर्ने छविस,झुस्कु चौडका करिब ११५ घरधुरीका स्थानीयहरुले आसन्न निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन् ।

वडा सीमांकन र विभाजन स्पष्ट नहुँदा लामो समयदेखि प्रशासनिक तथा सेवा प्रवाहमा समस्या भोग्दै आउनु परेको उनीहरूको गुनासो छ। वडा कार्यालयसम्म पुग्न एकतर्फी चार घण्टाभन्दा बढी पैदल यात्रा गर्नुपर्ने बाध्यता, भौगोलिक विकटता तथा आवत–जावतको कठिनाइका कारण आधारभूत सेवा लिनसमेत समस्या भइरहेको भन्दै वडा विभाजन प्रमुख माग रहेको स्थानीयले बताएका छन्।

केहीदिन अघिमात्रै त्यहाँका स्थानीयहरुले यसै सन्दर्भमा भौगोलिक क्षेत्रलाई समेटेर नयाँ वडा गठन गर्नुपर्ने मागसहित पालिकालाई ज्ञापनपत्र बुझाएकाथिए । स्थानीय सरकार सञ्चालन ऐनअनुसार वडा विभाजनको प्रस्ताव गाउँसभाबाट दुईतिहाइले पारित गर्नुपर्ने उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.