सडक निर्माणका लागि छुट्याइएको बजेट सकिएपछि टिंकर सडक निर्माण कार्य रोकियो

दार्चुला । नेपाली सेनाबाट निर्माण भइरहेको दार्चुला (तुषारपानी)–टिंकर सडक निर्माण कार्य विगत एक महिनादेखि रोकिएको छ । सडक निर्माणका लागि छुट्याइएको बजेट सकिएपछि सडक निर्माण कार्य रोकिएको हो ।

चालू आर्थिक वर्षमा सरकारले टिंकर सडक निर्माणका लागि एक करोड रुपैयाँ मात्रै बजेट छुट्याएको थियो । टिंकर सडकका लागि सेनालाई ६ करोड ३१ लाख बजेट विनियोजन गरिएकोमा यसमध्ये सडक निर्माण कार्यका लागि एक करोड रुपैयाँ मात्रै बजेट राखिएको थियो । एक करोड बजेट खर्च भइसकेको र सडक निर्माण कार्य माघ १८ गतेदेखि बन्द रहेको व्यास गाउँपालिका–२ का स्थानीय जनक सिंह धामीले जानकारी दिए ।

टिंकर सडकमा विनियोजन गरिएको बाँकी बजेटले मेसिन उपकरण खरिद गर्ने र व्यासको छाङरुमा सेनाको क्याम्प निर्माण गर्ने लक्ष्य राखिएको छ । नेपाली सेनाले मेसिन उपकरण खरिद गर्ने कार्य स्थगित गरी विनियोजित बजेटको ठूलो हिस्सा सडक निर्माणमा खर्च गर्न प्रस्ताव गरेको छ । सेनाले गरेको प्रस्ताव भौतिक पूर्वाधार मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगे पनि स्वीकृत भएको छैन ।

सेनाले चालू आवको विनियोजित बजेटमध्ये ४ करोड रुपैयाँ सडक निर्माणमा खर्च गर्न बजेट संसोधनको प्रस्ताव गरेको स्रोतले बतायो । तर अर्थले बजेट संसोधनमा स्वीकृत दिन बाँकी छ । बजेट संसोधनको प्रस्ताव दुई महिनाअघि नै मन्त्रालयमा पुगे पनि अर्थले स्वीकृत गरिसकेको छैन ।

सेनाको प्रस्तावअनुसार बजेट संसोधन नहुँदा सडक निर्माण कार्य ठप्प बनेको छ । व्यास गाउँपालिकाको माल र दुम्लिङ क्षेत्रका वासिन्दाले सडक निर्माणमा रोजगारी पाइरहेकोमा निर्माण कार्य बन्द हुँदा अहिले बेरोजगार हुनुपरेको स्थानीयले बताएका छन् ।

नेपाली सेनाको सुचना तथा जनसम्पर्क निर्देशनालयले चालू आवको साउनदेखि पुष मसान्तसम्मको अवधिमा टिंकर सडकअन्तर्गत १ हजार २ सय मिटर लामो सडकको ट्रयाक निर्माण भएको जनाएको छ । यसैगरी, छ महिनाको अवधिमा ५ सय ९० मिटर लामो सडकको स्तरोन्नती पनि गरिएको सेनाको भनाई छ ।

Leave A Reply

Your email address will not be published.