दार्चुला । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दार्चुलामा कर्मचारीहरु मतपत्र र निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिएका छन् ।
मतपत्र र निर्वाचन सामग्री बुझेर कर्मचारी आजदेखि मतदान केन्द्रमा खटिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदिप सिह धामीले जानकारी दिए । यसअघि मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचनका बिषयमा अभिमुखीकरण तालिम दिइएको पनि उनले बताए ।
आजदेखि मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले मतदानका लागि आवश्यक तयारी गर्ने बताइएको छ । जिल्लामा निर्वाचनका लागि ८५७ जना कर्मचारी खटाइएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९२ हजार ९४८ जना मतदाता रहेका छन् । यहाँ ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
