दार्चुला । दार्चुलामा नेपाली कम्युनिस्ट पार्टीका प्रदेश कमिटी सदस्य अजब बहादुर बिष्ट नेपाली कांग्रेस प्रवेश गरेका छन् । सोमबार गोकुलेश्वरमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू र प्रतिनिधि सभाका उम्मेदवार धर्मानन्द जोशीले नेकपाको सक्रिय राजनीति गरेका विष्टलाई पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेशपछि बोल्दै विष्टले वामपन्थी दलहरूमा बढ्दो साङ्गठनिक विचलन र जनताप्रतिको उत्तरदायित्व कम हुँदै गएकाले आफूले विकल्प रोजेको बताए । यस्तै देशमा लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्न र स्थानीय विकासलाई तीव्रता दिन आफूले कांग्रेस रोजेको बताएका छन्।
उनले जनताको चाहना र वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नयाँ निर्णय लिएको बताए । नेपाली कम्युनिस्ट पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका विष्ट यो भन्दा पहिले नेकपा एमालेबाट वडाध्यक्ष जितेका नेता पनि हुन ।
उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा शैल्यशिखर नगरपालिका वडा ८ मा नेकपा एमालेबाट विजयी भएका थिए । कांग्रेसको गोकुलेश्वरमा आयोजना गरिएको कार्यक्रममा पुर्बमन्त्री दिलेन्द्र प्रसाद बडु , उम्मेदवार धर्मानन्द जोशी ,नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेशका प्रमुख सचेतक बिक्रम सिंह धामी महाधिवेशन प्रतिनिधि जगदीश बहादुर पाल पुर्ब मेयर अमर सिंह धामी स्थानीय तथा जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो।