दार्चुलामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमानाका सिल

दार्चुला । निर्वाचनको मौन अवधि सुरू भएसँगै दार्चुलामा रहेका भारतीय सीमानाकाहरू सिल गरिएको छ । सुरक्षा समिति संयोजक एव प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले निर्वाचनमा अवाञ्छित गतिविधि हुन नदिने सुरक्षा योजना अनुसार दार्चुलाको पुलघाट लगायतका सीमानाका बन्द गरिएको जानकारी दिए ।

गएरातिबाट बन्द गरिएका सो नाकाहरु फागुन २१ गते निर्वाचनको मतदान कार्य सम्पन्न भएपछि मात्रै सञ्चालनमा आउनेछ । प्रमुख जिल्ला अधिकारी पौडेलले सीमानाकाबाट निर्वाचनमा हुने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर  चेकजाँचमा पनि कडाइ गरिएको बताए ।

“प्रतिनिधिसभा निर्वाचनका लागि दार्चुला जिल्लाको भारतीय क्षेत्रसँग जोडिएको सीमाहरू पूर्ण रूपमा १८ गते हिजो राति १२ बजेदेखि २१ गते रातिसम्म सिल गरिएको अवस्था छ । अहिले नाकाहरूमा चेकजाँच गरिरहेको अवस्था छ ।  कुनै पनि मानिसहरूलाई आवातजावत गर्न दिइएको छैन,“ उनले भने ।

नेपाल–भारतबीचको सीमानाकामा दुवै देशका सुरक्षा अधिकारीहरूको बैठकले निर्वाचनमा केन्द्रित सुरक्षा योजना बनाएको र सोहीअनुसार सो नाका बन्द गर्ने काम गरिएको हो ।

त्यसैगरी एकीकृत सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका जनशक्तिहरू निर्वाचनका लागि परिचालन गरिएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.