दार्चुलामा मतगणनास्थल तयार, सीसीटीभी र तारजाली जडान

दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

दार्चुला । बिहीबार भोली हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि दार्चुलाको मतगणनाको सम्पूर्ण तयारी पूरा भएको छ । एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा मतगणनाको लागि महेन्द्र नमुना मावि खलंगाको विद्यालयमा व्यवस्था मिलाइएको छ ।

मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार मतगणनालाई व्यवस्थित र पारदर्शी बनाइएको छ । मतगणकहरूलाई जालीभित्र राखेर सीसीटीभी क्यामेराको निगरानीमा मतगणना गरिने छ । उम्मेदवारका प्रतिनिधिहरूलाई जालीबाहिरबाट प्रत्यक्ष अवलोकन गर्न गरी व्यवस्थापन मिलाइएको उनले बताए ।

‘मतगणना सुरक्षित, पारदर्शी र निष्पक्ष बनाउन आवश्यक सबै तयारी पूरा भइसकेको छ’, मुख्य निर्वाचन अधिकृत गिरीले भने, ‘मतगणनास्थलमा कार्पेट विछ्याउने तारजाली लगाउने, सीसीटिभी जडान तथा विद्युतको बैकिल्पक व्यवस्थाको रुपमा जेनेरेटर तयारी अवस्थामा राखिएको छ ।’ प्रत्यक्षतर्फको मतगणनापछि समानुपातिक मतगणना गर्ने तयारी छ ।

जिल्लामा कुल ९२ हजार ९४८ मतदाता रहेका छन् । जसमा ४५ हजार १९३ महिला र ४७ हजार ७५५ पुरुष मतदाता छन् । जिल्लामा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

जिल्लाभरि ११२ मतदान स्थल र १४३ मतदान केन्द्र छन् भने दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागारमा रहेका बन्दीका लागि कारागारमै मतदान केन्द्र तोकिएको छ । यस मतदान केन्द्रमा २३ जना मतदाता र ७ जना कर्मचारी गरी ३० जना मतदाता छन् ।

यस्तै समानुपातिक मतदानको लागि घरेलु तथा साना उद्योग कार्यालयमा मतदान केन्द्र तोकिएको छ । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका आधारमा २२ मतदानस्थललाई अति संवेदनशील, ४१ संवेदनशील सूचीमा राखेको छ ।

दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुलाका दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले मात्रै गरेका छन् । महिलाले नेतृत्व गर्ने मतदान केन्द्रमा सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–४ को महेन्द्र नमुना मावि खलंगा र व्याँस गाउँपालिका–१ को छाङ्गरु मतदान केन्द्र रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद अवस्थीका अनुसार दुवै मतदान केन्द्रमा कर्मचारी सबै महिला राखिएको हो । महिलाले नेतृत्व गरेको महेन्द्र नमुना मावि खलंगामा ४०४ महिला र ३५९ पुरुष गरी कुल ७९३ जना मतदाता रहेका छन् । यो मतदान केन्द्रमा खटिएका मतदान अधिकृत व्याँस गाउँपालिकाका इन्जिनियर महेश्वरी धामी र सहायक निर्वाचन अधिकृतको रुपमा व्याँस गाउँपालिकाका अधिकृत छैटौ सपना सिंह खटाइएको छ ।
यो मतदान केन्द्रमा सुरक्षाकर्मी पनि महिला नै बढि छन् । मतदान केन्द्रमा स्वयंसेवक पनि महिलालाई प्राथमिकता दिएर नियुक्त गरिएको मतदान अधिकृत महेश्वरी धामीले जानकारी दिइन् ।
यस्तै व्यासको छाङ्गरु मतदान केन्द्रमा महिला १९९ र पुरुष १७६ गरी कुल ३७४ जना मतदाता रहका छन् ।
यस मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा शंकरपुर मावि पस्तीका प्रधानाध्यापक भुवनेश्वरी अवस्थी खटाइएको छ, भने सहायक मतदान अधिकृतको रुपमा स्वास्थ्यकर्मी हरुदेवी खत्री खटाइएको छ । मतदान अधिकृत अवस्थीका अनुसार योपटक हामीलाई विशेष जिम्मेवारी दिइएको छ ।

Leave A Reply

Your email address will not be published.