दार्चुला । प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेश सिंह ठगुन्ना विजयी हुनुभएको छ। मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मानन्द जोशीलाई ३ हजार ६ मतान्तरले पराजित गर्नुभएको हो।
निर्वाचन परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले १५ हजार ८८५ मत प्राप्त गर्नुभएको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश सिंह सामन्तले ८ हजार ९३६ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्नुभएको छ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार लक्ष्मण दत्त जोशीले ३ हजार ६५ मत प्राप्त गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेश चन्दले ६६५ मत ल्याउनुभएको छ भने नेकपा (माओवादी) का उम्मेदवार नवराज भट्टले २८५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत गिरीले जानकारी दिनुभयो। अन्य उम्मेदवारहरूले भने १ सय मतसमेत कटाउन नसकेको बताइएको छ।
जिल्लामा कुल ९२ हजार ९ सय ४८ मतदाता रहेकामा ४९ हजार ९६८ मत खसेको थियो। मतगणना सम्पन्न भएसँगै अन्तिम परिणाम सार्वजनिक गरिएको हो।
पूर्वमन्त्रीसमेत रहनुभएका ठगुन्ना दार्चुलाबाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो। यसअघि उहाँ २०७० सालको दोस्रो संविधानसभा निर्वाचन तथा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी हुनुभएको थियो। उहाँले २०७८ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो।
यसपटक दार्चुलामा प्रतिनिधिसभा सदस्य पदका लागि ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए। कडा प्रतिस्पर्धाबीच एमालेका उम्मेदवार ठगुन्नाले ३ हजार ६ मतान्तरसहित विजय हासिल गर्दै पुनः दार्चुलाबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुभएको छ।