ग्यास नपाएको गुनासो बढेपछि दार्चुला प्रशासनले गर्यो अनुगमन
कृत्रिम अभाव पैदा गर्नेहरूलाई तत्काल कानुनी दायरामा ल्याउने चेतावनी
दार्चुला । पछिल्लो केहीदिन यता दार्चुलामा उपभोक्ताले खाना पकाउने ग्यास नपाएको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले ग्यास डिपो र बिक्री केन्द्रहरुमा अनुगमन गरेको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहाल नेतृत्वको टोलीले जिल्ला सदरमुकाम खलंगा क्षेत्रको बजार अनुगमन गरेको हो । मध्यपूर्वी देश इरान र इजरायल युद्धमा धकेलिएपछि इन्धनको अभाव हुनसक्ने भन्दै सरकारले आपूर्तिलाई सहज बनाउन आधा भरिएको सिलिण्डर बिक्री गर्न सुरू गरेको थियो ।
ब्यापारीहरूले यही मौकाको फाइदा उठाउँदै दार्चुलामा ग्यासको कालोबजारी गर्न खोजेपछि प्रशासनले शुक्रबार सदरमुकाम क्षेत्रका डिपो र बिक्री केन्द्रहरुमा अनुगमन गरेको जनाएको छ ।
अनुगमन टोलीले तत्काल बजारमा ग्यासको अभाव नरहेको विद्यमान अवस्था देखिएको जनाएको छ । प्रशासनले जारी गरेको प्रेस नोट मार्फत उपभोक्ताको हितलाई ध्यानमा राख्दै आपूर्ति व्यवस्थालाई सहज र पारदर्शी बनाउन जिल्लास्थित सम्पुर्ण बजार क्षेत्रका ग्यास सिलेन्डर विक्री डिलर/केन्द्र/विक्रेता तथा उपभोक्ताहरुलाई देहायका कार्यहरु नगर्न भनेको छ ।
साथै, अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिंङ गरेको पाइएमा, बढी मूल्य लिई ग्यास बिक्री गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ । यस्तै प्रशासनले विशेष अवस्थामा ग्यास आपूर्तिको सन्दर्भमा प्रशासनलाई समयमै जानकारी दिन पनि भनेको छ । ग्यास सिलिण्डर विक्री वितरणको अभिलेख राखी प्रति परिवार एक मात्र ग्यास सिलिण्डर वितरण गर्न भनेको छ ।
उपभोक्ताहरुको आवश्यकता भन्दा बढि खरिद माग गर्ने तथा भण्डारण गरी बजारमा ग्यास सिलिण्डरको कृतिम अभाव खडा हुने अवस्था सिर्जना गर्ने तथा अफवाह फैलाउने कार्य नगर्न चेतावनी दिएको छ । प्रशासनले कृत्रिम अभाव पैदा गर्नेहरूलाई तत्काल कानुनी दायरामा ल्याउने जनाएको छ ।
यस्तो छ प्रशासनले जारी गरेको प्रेस नोट
