दार्चुला सहित सुदूरपश्चिममा सुरू भयो ‘भिटौला’ पर्व
चैत्र महिनामा चेलीबेटीलाई दान दिएमा राम्रो फल मिल्ने जनविश्वास
दार्चुला । चैत महिना सुरू भएसँगै दार्चुला सहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भिटौला पर्व मनाउन थालिएको छ। भाइबहिनीबीचको माया र सम्बन्ध झल्काउने यस पर्वमा माइती पक्षका दाजुभाइले बिहे भइसकेकी दिदीबहिनीको घरमा पुगेर भेट्ने परम्परा रहेको छ।
यो परम्परा विशेषगरी दार्चुला,बैतडी, बझाङ, कैलाली र कञ्चनपुर जिल्लामा प्रचलित छ। सीमावर्ती भारतका केही गाउँहरूमा पनि भिटौला पर्व मनाउने चलन रहेको छ।चैत महिनामा ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव हुने भएकाले माइती पक्षले छोरीबहिनीको घरमा खानेकुरा र विभिन्न कोसेली लिएर जाने चलन पुरानै समयदेखि चल्दै आएको बताइन्छ।
भिटौलोका अवसरमा सेलरोटी, खीर, मालपुवा, गुड, फलफूल तथा लुगाकपडा जस्ता सामग्री लगेर दिने गरिन्छ। माइतीबाट ल्याइएका कोसेली छिमेकीसँग बाँड्ने परम्परा पनि रहेको छ।
तिहारको भाइटीकामा दिदीबहिनी माइत जाने र चैत महिनामा दाजुभाइले दिदीबहिनीको घरमा पुगेर भेट्ने चलनले भाइबहिनीबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास गरिन्छ।
पहिले मानिस खेतीपाती र घरकै काममा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सञ्चो बिसञ्चोको खबर समेत थाहा हुँदैन थियो। वसन्त ऋतुमा पराई घरमा छोरी चेलीलाई माइतीको सम्झना बढी आउने हुँदा यो चलन बसेको लेकमका स्थानीय गणेशराज जोशीले बताए। दाजुभाई नभएका परिवारमा नजिकमा गएर भेट्ने चलन समेत रहेको छ।
यस्तै, चैत्र महिनामा चेलीबेटीलाई दान दिएमा राम्रो फल मिल्ने जनविश्वासका कारण पनि यसको महत्व बढ्दै गएको छ। यस महिनाभरि एकरात दिदीबहिनीको घरमा बास बस्ने चलन पनि रहेको छ। यसले दाजुभाइ र दिदीबहिनीको प्रेम सम्बन्धलाई झन् नजिक र आत्मीय बनाउने बताइएको छ।
भौगोलिक विकटता, सञ्चार अभावमा विवाह पश्चात टाढा रहेका छोरीचेलीलाई माइती पक्षका भाइले वर्ष दिनमा एकपटक भेट्नुपर्ने परम्पराले सुख दु:ख आदानप्रदानमा सहज बनाईदिएको छ।