दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले पालिकाबाट प्रवाह गरेको सेवा प्रवाहको उपादेयीता र प्रभावकारी बनाउनका लागि सेवाग्राही सन्तुष्टि सर्भेक्षण सुरु गरेको छ । पालिका र मातहतका कार्यालयबाट हुने सेवाप्रवाहका बारेमा सेवाग्राहीले गाउँपालिकाले उपलव्ध गराउने सर्वेक्षण फारम भरेर आफ्नो प्रतिकृया राख्नसक्ने गाउँपालिकाले जनाएको छ ।
कार्यालयबाट प्रदान गरिने सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सेवाग्राही सन्तुष्टि सर्वेक्षण थालिएको लेकम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपकराज जोशीले जानकारी दिए ।
‘कार्यालयमा भईरहेको सेवाका सम्बन्धमा सेवाग्राहीको सन्तुष्टिको स्तरमापन गर्न र सेवा प्रवाहमा सुधार गर्न पृष्ठपोषण प्राप्त गर्ने अभिप्रायले सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम लागू गरिएको छ,’ उनले भने, ‘सेवाग्राहीले दिएको सुझावका आधारमा पालिकाले काम कारबाहीमा सुधार गरिने छ ।’
कार्यालयले सुधार गर्नु पर्ने विषय, सेवा प्रवाहमा लाग्ने समय, सेवा लिने प्रक्रिया, कार्यालयका कर्मचारीको व्यवहार र सेवा प्रवाहमा सुधार गर्नु पर्ने विषयमा सेवाग्राहीले फारम भरेर सुझाव लिइने प्रमुख प्रशासकिय अधिकृत जोशीले बताए ।
‘हामी सेवा प्रवाहलाई छिटो र छरितो बनाउन चाहन्छौं,’ उनले भने, ‘त्यसका लागि सेवाग्राहीको सुझाव नै हाम्रा लागि मार्गदर्शक हो ।’सेवाग्राही सन्तुष्टि सर्वेक्षण फारममा १८वटा प्रश्न समावेश गरिएका छन् । यो कार्यक्रम जिल्लामै पहिलो पटक लेकमबाट सुरू भएको हो ।
