दार्चुलामा यो वर्ष ४ जनाको क्षयरोगका कारण ज्यान गयो

महाकालीमा सबै भन्दा बढि ३७ जनामा क्षयरोग देखियो

दार्चुला । दार्चुलामा यो वर्ष क्षयरोगका कारण ४ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको साउन देखि फागनु मसान्तसम्मको आठ महिनामा जिल्लामा ४ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाभरी २५ जना महिला र ५२ जना पुरुषगरी ७७ जनामा क्षयरोग देखिएको जनाएको छ । क्षयरोग जिल्लाका सबै स्थानीय तहमा देखिएको छ ।

जसमध्ये जिल्लाको महाकाली नगरपालिकामा सबैभन्दा बढि ३७ जनामा देखिएको छ । सबैभन्दा कम जिल्लाको दुहुँ र मालिकार्जुन गाउँपालिकामा समान १/१ जनामा क्षयरोग देखिएको स्वास्थय कार्यालय दार्चुलाका क्षयकुष्ठ ‘सुपरभाइजर’ निरीक्षक देव जोशीले जानकारी दिए । यस्तै जिल्लाको शैल्यशिखर नगरपालिकामा ११ जना मार्मा र नौगाडमा समान ९/९ जनामा क्षयरोग देखिएको उनले बताए ।

अपिहिमालमा ४ जना व्यासमा ३ जना लेकम गाउँपालिकामा २ जनागरी ७७ जनामा क्षयरोग देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । गत वर्ष जिल्लामा १७५ जनामा क्षयरोग देखापरेको थिायो । त्यो मध्ये ५ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला अस्पताल दार्चुलामा अहिले पनि (जि–एक्सपट) एआई जडित डिजिटल एक्सरे मेसिनबाट क्षयरोगको परीक्षण हुदैँ आएको छ । स्वास्थ्यकर्मीहरुका अनुसार तीन हप्ता वा त्योभन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा यस रोग लागेको हुन सक्ने डाक्टरहरुले बताएका छन ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागूऔषध प्रयोग गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा नखाएमा रोगको पुन: संक्रमण फेरि देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनुपर्ने  बताएका छन । नियमित औषधी खाएमा यो रोग निको हुने गरेको छ । यसैविच आज विश्व क्षयरोग दिवस दार्चुलामा पनि मनाइएको छ ।

Leave A Reply

Your email address will not be published.