दार्चुला । दार्चुलामा जिप दुर्घटना हुदा सिचाई कार्यालयमा कार्यरत दुई जना कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मंगलबार (आज) विहान ९ बजे जिल्लाको शैल्यशिखर नगरपालिका वडा- ४ ओसिलमा जिप दुर्घटना हुँदा सिचाई कार्यालय दार्चुलामा कार्यरत शैल्यशिखर नगरपालिका -१ बलाँच बस्ने ४५ वर्षीय भरत तितारा र मालिकार्जुन गाउँपालिका -७ बस्ने बर्ष अन्दाजी ३०/३५ की मनिसा पालको निधन भएको खबर छ ।
यस्तै दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् । घाइते हुनेमा शैल्यशिखर नगरपालिका ४ काँडापारी बस्ने बर्ष अन्दाजी २१/२२ का जिप चालक प्रकाश ठगुन्ना, शैल्यशिखर नगरपालिका- ४ बस्ने २५ वर्षीय बिक्रम महर, शैल्यशिखर नगरपालिका -४ ओशिल बस्ने बर्ष ५० को अकबर महरा, र मालिकार्जुन गाउँपालिका ५ डाडकोट बस्ने बर्ष ४५ का मिन बहादुर पाल रहेका छन।
घाइतेहरुको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएकोे छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका – ४ ओशिल स्थित भित्री सडक खण्डमा काँडापारीबाट गोकुलेश्वर तर्फ आउँदै गरेको प्रकाश ठगुन्नाले चलाएको सु.प.प्र.०१–००१ ज १६४१ नम्बरको जिप अनियन्त्रीत भई सडक बाट अन्दाजी १००/१५० मिटर तल खसि दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक निरज सिंह भाटले बताए ।
इन्सपेक्टर भाटको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिगएको थियो । उक्त जिपमा चालक सहित ६ जना सवार रहेका थिए । दुर्घटनाग्रस्त जिप घटनास्थलमा नै रहेको छ । अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट समेत प्रहरी टोली खटिएको छ ।