सुदूरपश्चिमका सांसदसँग के विषयमा भयो प्रधानमन्त्रीको छलफल ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग प्रधानमन्त्री शाहले छलफल गरेका हुन् ।

छलफलका क्रममा सुदूरपश्चिमका सांसदहरूले प्रदेशको आवश्यकता, माग र समस्याबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए । कैलाली–२ का प्रतिनिधिसभा सदस्य केपी खनालका अनुसार गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनबारे अधिकांश सांसदले कुरा उठाएका थिए ।

‘गेटाको स्वास्थ्य विज्ञान विश्वविद्यालयका निम्ती केही दिनदेखि हामी मन्त्रालय धाउँदै आएका थियौँ,’ सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले भने, ‘आज सबै मान्यज्यूबाट त्यसका लागि आवाज उठ्यो । त्यो आवाज छिट्टै पूरा हुने आशा लिएका छौँ ।’

सुदूरपश्चिमका सात पहाडी जिल्लालाई धनगढी विमानस्थलसँग जोड्ने विषयमा पनि छलफल भएको खनालले बताए । सेती लोकमार्गको निर्माणबारे पनि प्रधानमन्त्रीसँग छलफल भएको खनालले बताए ।

कञ्चनपुर– ३ का सांसद ज्ञानेन्द्र महताले प्रधानमन्त्रीसँग छलफलपछि शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा यसै शैक्षिक सत्रबाट पढाइ सुरू हुने गरी काम अगाडि बढेको जानकारी दिए ।

छलफलमा रास्वपाबाट निर्वाचित कोमल ज्ञवाली, केपी खनाल, जगतप्रसाद जोशी, खेमराज कोइराला, आनन्द चन्द, जनकसिंह धामी, ज्ञानेन्द्र महता, डा. तारा जोशी, हरिमोहन भण्डारी सहभागी थिए । यस्तै, कांग्रेसका सांसद जनकराज गिरी, भरतबहादुर खड्का, एमालेका ऐन महर, यज्ञ बोगटीलगायतको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.