दार्चुलामा भोलिदेखि सुरू हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, परीक्षामा मोबाइल फोन निषेध

दार्चुला। शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले बिहीबार भोलीबाट सुरू हुने माध्यमिक शिक्षा परिक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा केन्द्रहरुमा केन्द्राध्यक्ष केन्द्रमा खटी सकेका छन भने प्रश्न पत्र र उत्तर पुस्तिका सम्बन्धित स्थानमा पुगी सकेको छ ।  शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका सूचना अधिकारी लक्ष्मी जोशीका अनुसार एसइईको सबै तयारी पूरा भएको बताए । उत्तर पुस्तिका प्रश्नपत्रहरु सम्बन्धित केन्द्रमा पुगिसकेको छ ।

जिल्लामा १७ वटा परीक्षा केन्द्र कायम गरिएको छ । सदरमुकाम खलंगामा २ र सदरमुकाम बाहिर १५ वटा परीक्षा केन्द्र राखिएका छन् । जिल्ला परीक्षा समन्वय समिति र केन्द्राध्यक्षको अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेका छ । जिल्लाभरी सामुदायिक ७७ र ३ वटा संस्थागतगरी ८० विद्यालयका विद्यार्थीहरुले परीक्षा दिने छन् ।

जिल्लामा नियमित तर्फ २ हजार ५२८ जना र ग्रेडवृद्धी तर्फ एक हजार ४० जना परीक्षार्थी सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले जनाएको छ ।परीक्षा सुरक्षित निष्पक्ष र मर्यादितरूपमा सम्पन्न गर्न केन्द्रमा सुरक्षाकर्मी समेत परिचालन गरिने जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रजिअ अनिल पौडेलले बताए । बिहीबार भोली पहिलोदिन अंग्रेजी विषयको परीक्षा हुने छ ।दार्चुलामा जम्मा ३ हजार ५६८ जना विद्यार्थी परीक्षामा भाग लिने भएका छन् ।
परीक्षामा मोबाइल फोन निषेध
परीक्षामा मोबाइल फोन निषेध गरिएको छ । परीक्षामा मोबाइल सहीत डिजिटल सामाग्री लैजान निषेध गरिएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिए । यस्तै चिट, गेस पेपर, गाइड लगायतका सामाग्री समेत लैजान पाइने छैन । परीक्षालाई मर्यादित बनाउन परीक्षा केन्द्रको गेट मै महिला र पुरुष निरीक्षकले खानतलासी लिन सक्ने जोशीको भनाइ छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको दोस्रो दिन चैत्र २० गते अनिवार्य नेपाली, तेस्रो दिन चैत्र २२ गते अनिवार्य गणित, चैत्र २३ गते अनिवार्य विज्ञान, चैत्र २४ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुने भएको छ । परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले जनाएको छ । परीक्षा गतबर्ष चैत्र ७ गतेदेखि भएको एसइई परीक्षा यस बर्ष १२ दिन पछि हुन लागेको छ ।

Leave A Reply

Your email address will not be published.