दार्चुला-टिंकर सडकमा बजेट रकमान्तर गर्ने फाइल स्वीकृत,सेनालाई काम गर्न बाटो खुल्यो

दार्चुला । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडकमा बजेट रकमान्तर गर्ने फाइल स्वीकृत भएको छ। टिंकर सडकमा चालु आर्थिक वर्षमा विनियोजन भएको ६ करोड ३१ लाख बजेटमध्ये भौतिक निर्माणतर्फ १ करोड मात्रै बजेट रहेकोमा भवन निर्माण र मेसिन खरिदको बजेट रकमान्तर गरेर भौतिक निर्माणमा चार करोड पुर्‍याइएको हो।

बजेट अभावमा सडक निर्माणको काम रोकिएपछि नेपाली सेनाले बजेट रकमान्तरका लागि अनुरोध गरेको थियो। चैत १७ गते बजेट रकमान्तर भएसंगै नेपाली सेनालाई काम गर्न बाटो खुलेको छ।

नेपाल सरकारले बजेट रकमान्तर गरेसंगै टिंकर सडकको दुम्लिङ क्षेत्रमा काम गर्ने तयारी भइरहेको निर्माण कार्यमा खटिएको नेपाली सेनाका कर्नेल राजेश कटुवालले बताए । सेनाले कडा चट्टानी भूभागमा जोखिमपूर्ण ढंगले काम गरेर टिंकर सडक निर्माण गरिरहेको छ।

चालु आर्थिक वर्षका लागि सडक निर्माणमा रकमान्तर गरिएको बजेटले एक डेढ महिनामै दुम्लिङसम्म गाडी पुर्‍याउने लक्ष्यका साथ केही दिनमै काम सुरू गर्ने सेनाले जनाएको छ।

आगामी आर्थिक वर्षमा टिंकर सडकमा प्रयाप्त बजेट विनियोजन गरिदिनुपर्ने व्याँसका स्थानीयबासीन्दाको माग रहेको छ। सामरिक महत्त्वको टिंकरसम्म सडक छिटो पुर्‍याउन प्राथमिकताका साथ निर्माण गरिनुपर्नेमा सरोकारवालाहरूको माग छ।

Leave A Reply

Your email address will not be published.