दार्चुला। जिल्ला प्रहरी कार्यालय दार्चुलाले बाल मैत्री स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयको निर्देशन अनुसार प्रहरी कार्यालयमा पहिलो पटक बाल मैत्री स्तनपान कक्ष सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यस्तै प्रहरी कार्यालयमा सेवा लिन आउने महिला र बालबालिकाका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलामा पहिलो पटक बाल मैत्री स्तनपान कक्ष सञ्चालनमा ल्याइएको हो । विहिबार आज एक औपचारीक कार्यक्रमको आयोजना गदैँ बाल मैत्री स्तनपान कक्ष सञ्चालनमा ल्याएको प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी गौरव महतले जानकारी दिए ।
प्रहरी कार्यालयमा आउने सेवाग्राही, बालबालिका तथा प्रहरी कर्मचारीका बालबालिकाहरुको रेखदेख, मनोरञ्जन, स्तनपानको लागि सजिलो हुने उद्देश्यका साथ बाल मैत्री स्तनपान कक्ष स्थापना गरिएको उनले बताए ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन, २०७५ मा सरकारी, गैरसरकारी, निजी संस्थाले आआफ्ना कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दुध चुसाउन छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ ।
