दार्चुलाको अपिहिमालमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, झण्डै १६ सय नागरिक लाभान्वित

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिकामा सञ्चालन गरिएको तीन दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिका र काठमाडौंस्थित ‘एक एक पाइला’ संस्थाको संयुक्त आयोजनामा खण्डेश्वरी क्षेत्रमा सञ्चालित शिविरबाट कुल १ हजार ५ सय ९२ नागरिक लाभान्वित भएका छन्।

चैत १७ देखि १९ गतेसम्म सञ्चालन भएको उक्त शिविरमा ४ सय ५७ पुरुष र १ हजार १ सय ३५ महिलाले स्वास्थ्य सेवा लिएका थिए। दुर्गम क्षेत्रमा घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको शिविरमा महिलाहरूको उपस्थिति उल्लेखनीय रहेको जनाइएको छ।

शिविर अवधिभर ३ हजार १९ पटक विभिन्न स्वास्थ्य परामर्श तथा सेवाहरू प्रदान गरिएको थियो। पञ्चीकरण शाखाका एमआइएस अपरेटर दीपक राम टमटाका अनुसार जनरल मेडिसिनमा ४ सय ३३, आँखा रोगमा ४ सय ७८, हाडजोर्नीमा ३ सय ११ तथा दाँतसम्बन्धी समस्यामा ३ सय २४ जनाले सेवा लिएका छन्। त्यसैगरी, नाक–कान–घाँटी विभागबाट ३ सय १३, स्त्री तथा प्रसूति सेवामा २ सय ९९ र बालरोग विभागमा १ सय २८ जनाको उपचार गरिएको छ।

विशेषज्ञ सेवा सहित सञ्चालन गरिएको शिविरमा विकट क्षेत्रमा नै शल्यक्रिया सेवा समेत उपलब्ध गराइएको थियो। कुल २९ वटा सफल शल्यक्रिया सम्पन्न भएका छन्, जसमा १९ वटा आँखासम्बन्धी र १० वटा नाक, कान तथा घाँटीसम्बन्धी शल्यक्रिया रहेका छन्। साथै, ४ सय ९१ जनाको प्रयोगशाला परीक्षण तथा २ सय १४ जनाको भिडियो एक्स–रे सेवा गरिएको थियो।

शिविर समापन समारोहमा गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले सेवा प्रदान गर्न आएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गर्दै उनीहरूको योगदानको प्रशंसा गर्नुभयो। उहाँले दुर्गम क्षेत्रका नागरिकलाई घरमै विशेषज्ञ सेवा उपलब्ध गराउनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।

सम्मानस्वरूप स्वास्थ्यकर्मीहरूलाई स्थानीय स्तरमै निर्मित टोपी र हस्तनिर्मित सानो झोला प्रदान गरिएको थियो। गाउँपालिकाका अनुसार यसले स्थानीय श्रम, सीप र मौलिक संस्कृतिको प्रवर्द्धनमा समेत टेवा पुगेको छ।]

Leave A Reply

Your email address will not be published.