लटिनाथ आधारभूत विद्यालयमा नयाँ भवन निर्माण कार्य सुरू

दार्चुला ।  महाकाली नगरपालिका वडा–७ अन्तर्गत धापस्थित लटिनाथ आधारभूत विद्यालयमा नयाँ भवन निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। वर्षौंदेखि जीर्ण अवस्थामा रहेको विद्यालय भवन अब पुन:निर्माणतर्फ अघि बढेसँगै स्थानीयवासीमा खुशी छाएको छ।

थालिगाड क्षेत्रको उक्त विद्यालयको पुरानो भवन लामो समयदेखि मर्मतसम्भार अभावमा कमजोर बन्दै गएको थियो। कक्षाकोठाहरू साँघुरा, अँध्यारा तथा असुरक्षित थिए भने वर्षात्का बेला छानो चुहिने, भित्ताहरू चिरिने र भुइँ चिसो तथा बिग्रिएको अवस्थाले विद्यार्थीहरूको अध्ययनमा गम्भीर असर पार्दै आएको थियो। जोखिमपूर्ण वातावरणमा विद्यार्थीहरू पढ्न बाध्य हुनुका साथै शिक्षक र अभिभावकले पनि बारम्बार चिन्ता व्यक्त गर्दै आएका थिए।

स्थानीयस्तरमा पटक–पटक नयाँ भवन निर्माणको माग उठेपछि नगर कार्यपालिकाको कार्यालय, खलंगा दार्चुलाले पहल गर्दै निर्माण कार्य अगाडि बढाएको हो। निर्माणको जिम्मा बद्री निर्माण सेवाले लिएको छ। निर्माण कम्पनीका अनुसार आजदेखि औपचारिक रूपमा दुई कोठे नयाँ भवन निर्माण कार्य सुरु गरिएको हो।

नयाँ भवन निर्माणसँगै विद्यालयमा देखिएका भौतिक पूर्वाधारसम्बन्धी समस्या समाधान हुने अपेक्षा गरिएको छ। विशेषगरी साना कक्षाका विद्यार्थीहरूले सुरक्षित, सफा र सहज वातावरणमा अध्ययन गर्न पाउनेछन् भने शिक्षकहरूलाई पनि पठनपाठन सञ्चालन गर्न थप सहजता हुने विश्वास गरिएको छ।

लामो समयदेखिको माग पूरा हुन थालेपछि स्थानीयवासीहरूले खुशी व्यक्त गरेका छन्। उनीहरूका अनुसार नयाँ भवनले विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। साथै भौतिक अवस्था सुधारसँगै अभिभावकहरूको विश्वास बढ्ने र विद्यार्थीहरूको उपस्थितिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

यस सम्बन्धमा स्थानीय युवा विशाल सिंह रैखोलाले पुरानो भवन अत्यन्त जोखिमपूर्ण रहेको र विद्यार्थीहरू कठिन परिस्थितिमा अध्ययन गर्न बाध्य भएको उल्लेख गर्दै नयाँ भवन निर्माण सुरु हुनु सकारात्मक र स्वागतयोग्य कदम भएको बताए। उनले निर्माण कार्य समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकायसँग आग्रह समेत गरेका छन्।

Leave A Reply

Your email address will not be published.