दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा ईलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। गृह मन्त्रालयबाट स्वीकृति पाएसँगै वैशाखको पहिलो हप्ताभित्र सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थापना हुन लागेको कार्यालयका लागि आवश्यक संरचना र व्यवस्थापनको काम भइरहेको छ। कार्यालय सञ्चालनका लागि शैल्यशिखर नगरपालिकाको कृषि तथा पशु भवन प्रयोग गरिनेछ भने स्थानीय तहहरूले आवश्यक सहयोग गर्ने सहमति गरेका छन्।
यो कार्यालय सञ्चालनमा आएपछि शैल्यशिखर, मार्मा, अपिहिमाल र नौगाड तथा लेकमका केही वडाका नागरिकले नजिकैबाट नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सेवा पाउनेछन्। यसले सदरमुकाम खलङ्गा धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ। ईलाका प्रशासन कार्यालयमार्फत नागरिकता, राष्ट्रिय परिचयपत्र, विपद् व्यवस्थापन, सार्वजनिक सुरक्षा लगायतका सेवा स्थानीय तहसम्म सहजै पुग्ने अपेक्षा गरिएको छ।