दार्चुला । जिल्ला मालपोत कार्यालय दार्चुलाले बिचौलियालाई कार्यालय प्रवेशमा निषेध गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै अनाधिकृत व्यक्तिहरू (बिचौलिया) लाई कार्यालय परिसरमा प्रवेश निषेध गरिएको जानकारी दिएको छ ।
कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी तथा गुनासोरहित बनाउन अनाधिकृत व्यतिलाई कार्यालय प्रवेशमा रोक लगाइएको कार्यालय प्रमुख लक्ष्मीराज विष्टले जानकारी दिए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट जारी परिपत्रअनुसार उक्त निर्णय लागू गरिएको उनले बताए ।
यस्तै कार्यालयले सेवा लिन आउने सेवाग्राहीलाई आफ्नो परिचय खुल्ने कागजात साथमा लिएरमात्रै कार्यालयमा आउन आग्रह गरेको छ । बिचौलियालाई प्रवेश निषेध गर्ने निर्देशन कार्यान्वयन भए/नभएको अनुगमन गरिने चेतावनीसहित मन्त्रालयले देशभर मातहातका कार्यालयलाई पत्राचार गरेको जनाएको छ ।
