दार्चुलामा इन्धन र निर्माण सामग्री महँगीले निर्माण क्षेत्र संकटमा, व्यवसायीको चेतावनी –‘उद्योग ठप्प हुन सक्छ’
दार्चुला। दार्चुला निर्माण व्यवसायी संघले इन्धन तथा निर्माण सामग्रीको निरन्तर मूल्यवृद्धिका कारण जिल्लाको निर्माण क्षेत्र गम्भीर संकटमा परेको जनाएको छ। संघले गत शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा वर्तमान अवस्था कायमै रहे निर्माण उद्योग नै ठप्प हुने चेतावनी दिएको हो।
संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव नेपालमा परिरहेको छ। विशेषगरी डिजेल, पेट्रोल, मट्टितेल जस्ता इन्धनसँगै बिटुमिन, सिमेन्ट, डण्डी लगायत निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको उल्लेख गरिएको छ।
निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिका कारण परियोजनाको लागत अत्यधिक बढेको संघको भनाइ छ। यसले ठेक्का सम्झौता अनुसार काम गर्न व्यवसायीहरूलाई समस्या भएको जनाइएको छ। साथै, समयमै भुक्तानी नहुनु र बजारमा मूल्य अस्थिरता रहनुले निर्माण व्यवसायी थप मारमा परेको विज्ञप्तिमा उल्लेख छ।
संघले सरकारसँग तत्काल हस्तक्षेप गरी इन्धन तथा निर्माण सामग्रीको मूल्य नियन्त्रण गर्न, आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन र व्यवसायीलाई राहत प्रदान गर्न माग गरेको छ। निर्माण कार्य ठप्प हुँदा समग्र विकास निर्माण प्रभावित हुने र त्यसको प्रत्यक्ष असर जनजीवनमा पर्ने चेतावनी पनि संघले दिएको छ।
संघका अध्यक्ष सर्पराज बडूले निर्माण क्षेत्र जोगाउन सरकारले तुरुन्त ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन्। समस्या समाधान नभए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत संघले दिएको छ।
