बिसु पर्व नजिकिएसँगै दार्चुलाका गाउँघरमा चहलपहल बढ्यो

दार्चुला । दार्चुलाका ग्रामीण क्षेत्रमा बिसु पर्व नजिकिएसँगै गाउँघरमा चहलपहल बढेको छ। बिसु पर्व दार्चुलामा धुमधामसँग मनाउँछन्। बिसु पर्व आउनु पूर्व नै जिल्लामा आ–आफ्नो घर रातो माटो र कमेरो माटोले रङ्गिन थालेका छन् ।

नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरी नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको स्थानीय जानकारहरु बताउछन्। यसैक्रममा गहु केराउ मसुरो खेतीपनि भित्र्याउनु पर्ने भएकाले नागरीकहरु काममा व्यस्त रहेका छन् ।

त्यस्तै नयाँ वर्ष तथा बिसु पर्वमा विभिन्न सहर तथा भारत गएकाहरू पनि घर फर्किन थालेसँगै झन गाउँमा चहलपहल पनि बढेको छ । बिसु पर्वको अवसरमा बिहे गरेर गएका छोरी चेलीसमेत माइत आउने चलन छ। बिसु पर्वका अवसरमा सिस्नु लगाउने प्रचलन रहेको छ।

बिसु मनाउन भारतबाट घर फर्किरहेका नेपालीका कारण दार्चुलाको पूलघाटदत्तु, लगायतका नाकामा चहलपहल बढेको छ । सिस्नो लगाउँदा शरीरमा भएको विष हटेर जाने यहाँका स्थानीयको जन विश्वास छ । विहानै नुहाइधोइ गरी नयाँ वर्षका दिन शरीरमा सिस्नो लगाएपछि वर्षभरिमा रोग नलाग्ने जनविश्वास छ । विसु पर्वलाई दार्चुलाको मार्मा गर्खाले विशेष महत्वका साथ मनाउने गरेका छन् ।

जिल्लाका सबै ठाउँमा विसु पर्व मनाउँदै आए पनि मार्मा क्षेत्रमा विशेष महत्व दिइन्छ । परम्परादेखि जिल्लालाई व्यास, दुहु, मार्मा र लेकम गर्खामा विभाजन गरेको थियो । मुलुक सङ्घीय संरचनामा गएदेखि मार्मा गर्खामा नौगाड, मार्मा र अपी हिमाल गाउँपालिका पर्छन् ।

विसुमा मार्मा गर्खाको सिप्टी र घोल्जरमा भव्य रूपमा ठूलो जात्रा लाग्ने गरेको छ । विसुको अघिल्लो दिनको दिउँसोबाट सिप्टीमा लाग्ने जात्रा लगातार तीन दिनसम्म लाग्ने गरेको छ । तीन दिनसम्म जात्रा लागे पनि मुख्य जात्रा विसुको दिन लाग्ने गरेको छ । कुनै पनि पर्व मनाउनुको उद्देश्य त्यसबाट आफन्तसँग भेटघाट हुनु, पर्वद्वारा भरपूर मनोरञ्जन प्रदान गर्नु र संस्कृतिको जगेर्ना गर्नु मुख्य उद्देश्य रहेको स्थानीय जानकार बताउँछन् ।

Leave A Reply

Your email address will not be published.