दार्चुला । शैल्यशिखर नगरपालिकामा भाडामा लिइएको स्कार्पियो गाडीको प्रयोगलाई लिएर विवाद चर्किएको छ। नगरप्रमुख विजय सिंह धामीको परिवारका सदस्यले उक्त सवारी निजी प्रयोजनमा प्रयोग गरेको आरोप सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको हो।
सुदूरपश्चिम प्रदेश ०२००१ च १३८२ नम्बरको स्कार्पियो नगरपालिकाले भाडामा सञ्चालन गर्दै आएको थियो। तर, सोही गाडीमा नगरप्रमुखका छोरा पुष्कर सिंह धामी र बुहारी सन्ध्या विष्टले देश भ्रमण गरेको विषय बाहिरिएपछि दुरुपयोगको प्रश्न उठेको हो। पुष्कर सिंह धामी हाल नौगाड गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्।
घटनाबारे बुझ्दा दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले प्रशासनसँग कुनै समन्वय नभएको र सवारी पाससमेत नलिइएको जानकारी दिएका छन्। उनले सम्बन्धित पक्षसँग थप जानकारी संकलन भइरहेको बताए।
यता, शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले गाडी दुरुपयोग भएको औपचारिक पुष्टि नभएको बताएका छन्। उनका अनुसार उक्त सवारी नगरप्रमुखकै प्रयोगमा रहेको र सर्भिसिङका लागि कैलाली पठाइएको चलानी रहेको छ।
“चलानी अनुसार गाडी सर्भिसिङका लागि पठाइएको हो, त्यसपछि कहाँ छ भन्नेबारे स्पष्ट जानकारी आएको छैन,” उनले भने।यस विषयमा प्रतिक्रिया लिन खोज्दा नगरप्रमुख विजय सिंह धामी र उपप्रमुख शान्ती खडायतसँग सम्पर्क हुन सकेन। घटनाले स्थानीय तहमा सार्वजनिक स्रोतको प्रयोग, पारदर्शिता र जवाफदेहिताबारे गम्भीर प्रश्न उठाएको छ।