दार्चुलाका सार्वजनिक यातायातमा अनिवार्य सीसीटीभी र जीपीएस ट्र्याकिङ लागू गर्ने निर्णय

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक यातायातमा सुरक्षा र सेवा सुधार गर्न नयाँ निर्णय कार्यान्वयनमा ल्याउने भएको छ। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा बसेको बैठकले यातायात क्षेत्रमा हुने विभिन्न समस्यालाई न्यूनीकरण गर्न महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत नीतिअनुसार सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा तथा अन्य आपराधिक गतिविधि रोक्न सवारी साधनमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्न निर्देशन दिइएको छ। यो व्यवस्था ३० दिनभित्र कार्यान्वयन गर्न सबै यातायात व्यवसायीलाई अनुरोध समेत गरिएको छ।

त्यसैगरी, सबै सार्वजनिक सवारी साधनहरूमा चालक तथा सहचालकले तोकिएको पोशाक र परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । साथै, सवारी साधनहरूमा जीपीएस ट्र्याकिङ प्रणाली जडान गरी निगरानीलाई थप प्रभावकारी बनाइने निर्णय गरिएको उनले बताए ।

यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै सवारी साधनहरू सफा र स्पष्ट देखिने गरी सञ्चालन गर्न तथा सवारी साधनमा तोकिएको मापदण्ड पालन गर्न पनि निर्देशन दिइएको छ।

यस निर्णयको कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय दार्चुलालाई आवश्यक अनुगमन तथा निगरानी गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.